विचार/ब्लग

काँग्रेस नेतृ मनिता भन्छिन्, ‘बाम एकता यसकारण देशका लागि हानिकारक हो’

कांग्रेस युवा नेतृ मनिता घिमिरेले वामपन्थीहरुको एकतामाथि कडा प्रहार गरेकी छिन् । धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्छ भनेर सकृय भईरहेकी मनिताले लोकतन्त्रवादी जनताका नाममा एक खुला पत्र लेख्दै वामपन्थी एकताको वृहत शल्यक्रिया गरेकी छिन् । मनिताको यो खुला पत्रले वाम एकताको निकै राम्रोसँग शल्यक्रिया गरेको छ ।

-नेतृ-मनिता घिमिरे

 

 

प्रस्तुत छ मनिताको खुला पत्रको पूर्ण पाठ :

आदरणीय लोकतन्त्रवादी जनता
हार्दिक जय नेपाल !

वामपन्थीहरु एक ठाउँमा उभिने भन्दै एमाले र माओवादीले चुनावी तालमेल गरेका छन् । यो तालमेल देशका लागि किन घातक छ भन्ने तथ्य सबैले बुझ्न जरुरी छ । एमाले र माओवादीले यो तालमेल चुनावका लागि मात्र भएको होइन भनेका छन् । उनीहरुले नेपालमा फेरि कम्युनिष्ट आन्दोलन उठाउने उद्देश्यले पार्टी समेत एकीकरण गर्ने घोषणा गरेका छन् । फुट्नुभन्दा जुट्नु राम्रो हो तर कुन उद्देश्यको लागि जुटेको हो भन्ने तथ्यमा आँखा चिम्लन मिल्दैन ।

के पर्छ असर ?

एमाले र माओवादी फरक प्रजातिका वामपन्थी थिए । वामपन्थी बाटो छाड्दै एमाले लोकतन्त्रवादी बन्दै थियो । कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भन्ने अवस्था सिर्जना हुँदै थियो । तर, वाम एकताको नाममा एमालेले अचानक आमूल परिवर्तनको बाटो रोज्यो । कांग्रेस झैं पूर्ण लोकतन्त्रवादी बन्ने बाटोमा जाँदै गरेको एमालेले अचानक बाटो फेरेर झन धेरै वामपन्थी बन्न खोज्नु उसका लागि मात्र नभएर देशकै लागि क्षति हो ।

कुनै दुई पार्टीले एकता गर्दा या चुनावमा तालमेल गर्दा आपत्ति जनाउन आवश्यक छैन तर एमाले र माओवादीले देशमा आमूल परिवर्तन गर्दै साम्यवादसम्म पुग्ने उद्देश्यले एकीकरण गर्ने भनेका छन् । माओवादीले आमूल परिवर्तन गर्ने र साम्यवाद ल्याउने भन्दै १७ हजार मानिस मारिसकेको छ । आमूल परिवर्तनको नाममा देश र जनताले धेरै दुख भोगिसकेका छन् । एमाले र माओवादीको आमूल परिवर्तन र साम्यवादी सपनाबाट देशले पुन हिँसा र अस्थिरता भोग्नुपर्ने खतरा देखिएको छ । यही कारण एमाले र माओवादीको एकीकरण देश र जनताका लागि घातक छ ।

देशलाई अहिले आमूल परिवर्तन चाहिएको छैन, संविधान कार्यान्वयन र समृद्धि चाहिएको छ, यही लोकतन्त्र संस्थागत गर्नु परको छ ।

आमूल परिवर्तन भन्नेहरुले नेपालमा कुनै पनि राजनीतिक प्रणाली र अभ्याशलाई स्थापित हुन नदिने उद्देश्य राखेका छन् । उनीहरुको आमूल परिवर्तनको उद्देश्यले यो संविधान खतरामा परेको छ । किनभने वामपन्थी अवधारणाको आमूल परिवर्तन गर्न संविधान भत्काउनु पर्छ । संविधान भत्काउने बाटोमा जानु भनेको देशलाई फेरि अस्थिरतामा जाक्नु हो । त्यसैले यो वाम एकताले देशलाई घातक असर पर्नेछ ।

तालमेल कुन ठिक कुन वेठिक ?

कतिपयले कांग्रेस र माओवादीको चुनावी तालमेल ठिक हुने तर एमाले र माओवादीको तालमेल किन वेठिक हुने भनेर प्रश्न उठाइहेका छन् । बुझ्नुपर्ने कुरा के हो भने कांग्रेसले माओवादीसँग चुनावका लागि मात्र तालमेल गरेको थियो । कांग्रेस र माओवादीको तालमेलमा आमूल परिवर्तन भनिएको थिएन, संविधान भत्काउने र देशलाई अस्थिरतामा लैजाने नियत थिएन । माओवादीसँग तालमेल गर्दा कांग्रेसले आफ्नो विचार त्यागेर वाम विचार अंगालेको थिएन, बरु, माओवादीलाई लोकतन्त्रको बाटोमा अझ दह्रोसँग उभिन सहयोग गरेको थियो ।

चुनावमा तालमेल गर्नु र विचारमा तालमेल गर्नु फरक कुरा हो । कांग्रेस र माओवादीको तालमेल चुनाव बाहेक अरु केहीमा केन्द्रीत थिएन । त्यसैले कांग्रेस र माओवादीले सीमित ठाउँमा चुनावी तालमेल गर्नु र एमाले र माओवादीले तालमेलको बाटो हुँदै एकीकरणमा पुग्ने र आमूल परिवर्तन गर्ने लक्ष्य राख्नुमा आकाश पाताल फरक छ । कांग्रेसले पनि भरखरै नेपाल लोकतान्त्रिक फोरमसँग एकता गरेको छ । यो एकताको उद्देश्य संविधान कार्यान्वयन र मुलुकलाई समृद्धिमा लैजाने हो, आमूल परिवर्तन होइन । तर, एमाले र माओवादीको तालमेल आमूल परिवर्तनका लागि हो ।

वामपन्थीहरु या अन्य पार्टीहरुको चुनावी तालमेल अस्वाभाविक होइन । एमाले र माओवादीले चुनावी तालमेल मात्र भनेका थिए भने त्यसमा विरोध गर्नुको औचित्य हुने थिएन । तर, यो तालमेलले आमूल परिवर्तन र साम्यवादको उद्देश्य बोकेको छ । विगतमा जसरी देश हिंसाको चपेटामा पर्यो, त्यही बाटोमा देशलाई लैजाने नियत कसैले राख्छ भने बेलैमा त्यसको वैचारिक प्रतिकार गरिनुपर्छ, विरोध गरिनुपर्छ ।

कसले तोड्यो सहकार्य ?

कांग्रेस र एमालेको सहकार्यले मात्र संविधान प्रभावकारी ढंगले कार्यान्वयन हुनसक्छ । तर, एमालेले सहकार्य तोडेको छ । एमालेले नै सहकार्य तोडेको हो भन्ने तथ्य कतिपयले बुझेका छैनन् ।

प्रधानमन्त्री पदका लागि भएको चुनावमा सहमति विपरित सुशिल कोइरालाले उम्मेदवारी दिएको, राष्टपति निर्वाचनमा उम्मेदवारी दिएको, सरकार बनाउन एमालेलाई सहयोग नगरेको हुनाले कांग्रेसले सहकार्य तोडको भन्नेहरु पनि छन् । तर, यो तथ्य पनि होइन र सत्य पनि होइन । तथ्य के हो भने चुनावमा उम्मेदवारी दिनु, आफ्नो सरकार बनाउन अर्कोलाई असहयोग गर्नु, आफ्नो नेतृत्वमा सरकार बनाउन खोज्नु आदि कामहरु दलीय राजनीतिक व्यवस्थामा सधैं चलिरहने प्रकृया हो । दलीय लाभ हानीको कुरा आउँदा कांग्रेसले मात्र नभएर हरेक पार्टीले आफ्नो स्वार्थ हेर्छ । एमालेले पनि आफ्नो स्वार्थ हेर्छ । त्यसैले दलीय प्रतिस्पर्धा स्वाभाविक हो । कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन् । लोकतन्त्रमा प्रतिस्पर्धा पनि आफैमा एक प्रकारको सहकार्य हो । दलीय प्रतिस्पर्धा हुँदा सहकार्य तोडिएको मान्नु गलत हो । सहकार्य कसले तोड्यो त ? तथ्य हेरौं

१) दलीय व्यवस्थामा प्रतिस्पर्धाकै बीचमा सहकार्य हुने हो । कांग्रेस र एमालेले वैचारिक सहकार्य गरेका थिए, संविधानसभा गठनदेखि संविधान जारी हुँदासम्म कांग्रेस र एमालेले संविधानको अन्र्तवस्तुमा लगभग साझा धारणा बनाएका थिए । लोकतान्त्रिक संविधानको पक्षमा कांग्रेससँगै उभिएको एमाले अहिले वामपन्थी बन्ने बाटोमा लाग्यो । यसो गर्नु सहकार्य तोड्नु हो ।

२) माओवादीले जनवादी संविधान बनाउने भन्यो, बहुलवाद अस्वीकार गर्यो । त्यस विरुद्ध कांग्रेस र एमाले मिलेका थिए । बहुलवादको विषयलाई समेत लिएर माओवादीबाट मोहन वैद्य समूह फुट्यो तर कांग्रेस र एमाले बहुलवादको पक्षमा अविचलित उभिए । अहिले आएर एमाले आमूल परिवर्तन र साम्यवादसम्म पुग्ने बाटोमा लाग्नु भनेको बहुलवाद विरुद्ध उभिनु हो, सहकार्य तोड्नु हो । सहकार्य विरुद्ध उभिनु हो ।

३) लोकतान्त्रिक संविधान कार्यान्वयन गर्ने काम लोकतान्त्रिक शक्तिले मात्र गर्न सक्छ । आमूल परिवर्तन र साम्यवादको सपना बोक्ने शक्तिले लोकतान्त्रिक संविधान इमानदारीसाथ कार्यान्वयन गर्न सक्दैन । संविधानको उद्देश्य पूरा गर्ने काम संविधानप्रति इमानदार शक्तिले मात्र गर्न सक्छ । एमाले यो संविधानप्रति इमानदार रहेको देखिएन, त्यसैले एमालेले सहकार्य तोड्यो ।

४) कांग्रेस, एमाले र माओवादी बीचमा १२ बुँदे सहमति पछि सहकार्य सुरु भएको हो । सो सहमतिकै जगमा नेपालमा अहिलेका परिवर्तनहरु भएका हुन् र यो संविधान बनेको हो । सो सहमति विपरित एमाले र माओवादी पुन आमूल परिवर्तनको बाटोमा हिँडेर साम्यवादको सपना देख्नु भनेको सहमति र सहकार्य तोड्नु हो । उनीहरुले १२ बुँदेदेखिकै सहकार्य तोडेका छन् ।

५) कांग्रेस र एमाले दुवैले यो संविधान अनुसारको राज्यव्यवस्था स्वीकार गरेका हुन्, लोकतान्त्रिक बाटो स्वीकार गरेका हुन् । एमालेले आमूल परिवर्तन र साम्यवादी बाटोमा पाइला हालेपछि उसले स्वत सहकार्य तोडेको ठहरिन्छ ।

अब के गर्ने ?

एमाले र माओवादीले चुनावमा तालमेल भन्दै आमूल परिवर्तनको बाटो समातेपछि लोकतन्त्रलाई खतरा आइलागेको छ । यो संविधान खतरामा परेको छ । यो खतराबाट जोगिन लोकतान्त्रिक व्यवस्थामा खुट्टा टेकेर साम्यवादको यात्रा थालेको नेकपा एमालेलाई सहि ठाउँमा ल्याउनुपर्छ । त्यसैगरी उग्रवामपन्थी धारबाट लोकतान्त्रिक धारमा आउन प्रयाश गरिरहेको माओवादीलाई पुन आमूल परिवर्तनको बाटोमा जानबाट रोक्नुपर्छ । यसका लागि नेपाली कांग्रेसको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हुन आउँछ ।

नेपालका कम्युनिष्टहरुलाई प्रजातान्त्रिक तथा लोकतान्त्रिक बाटोमा ल्याउने काम कांग्रेसले नै गरेको हो । ०४६ सालमा संयुक्त आन्दोलन गरेर अहिलेको एमालेलाई कांग्रेसले नै प्रजातान्त्रिक धारमा ल्याएको हो । १२ बुँदे सहमति गरेर माओवादीलाई लोकतान्त्रिक धारमा ल्याउने कामको अगुवाई कांग्रेसले नै गरेको हो । अब देशमा आमूल परिवर्तनको नाममा खतरा आएको छ र यो खतरा टार्ने काम पनि कांग्रेसले नै गर्नुपर्छ । यसका लागि एमालेले माओवादीसँग मिलेर हिँड्न खोजेको आमूल परिवर्तनको बाटो गलत छ भनी जनतालाई बुझाउनुपर्छ । एमालेलाई पनि बुझाउनुपर्छ । एमालेलाई राजनीतिक सहकार्यबाट भाग्न नदिन कांग्रेसले प्रयास जारी राख्नुपर्छ । एमाले र माओवादीबीच पार्टी एकीकरण हुन्छ भने उनीहरुले एकीकरणपछि आमूल परिवर्तनको बाटो होइन लोकतान्त्रिक बाटो अपनाउन् भनी वैचारिक अभियान चलाउनुपर्छ ।

तर, बेइमानी ?

वामपन्थीहरुको गाली र तालिको भर हुँदैन । उनीहरु एक अर्कालाई तत्कालै प्रशंसा गरिहाल्छन् र कहिल्यै मिल्न नसक्ने गरी गालि पनि गरिहाल्छन् । एकले अर्कोलाई सत्रु घोषणा गर्छन् । उनीहरु मिलेको क्षणबाट फुटन थाल्छन् र फुटेपछि मिल्ने कुरा पनि थालिहाल्छन् । नेपालका वामपन्थीहरु अविश्वशनीय चरित्रका छन् । उनीहरुको अविश्वशनीय चरित्र हेरेर के भन्न सकिन्छ भने उनीहरुले यो एकताको कुरा चुनाव जित्ने उद्देश्यले मात्र ल्याएका हुन सक्छन् । चुनावमा पार्टीगत तालमेल भए पनि उनीहरुका समर्थक मतदाता एक ठाउँमा आउँदैनन् । समर्थक मतदातालाई एकै ठाउँमा ल्याएर चुनाव जित्ने उद्देश्यले पार्टी एकीकरणको कुरा ल्याएका हुन सक्छन् । एकीकरण गर्ने भनेर ढाटेका हुन् भने त्यो झन ठूलो बेइमानी हो ।

चुनावमा वामपन्थी गठवन्धनले बहुमत ल्याउँछ भन्ने उनीहरुको सोचाई थियो तर उनीहरुको गठवन्धन बने लगत्तै एमालेको जनाधारमा पहिरो जान थालेको देखिन्छ । यता नेपाली कांग्रेसमा व्यापक एकता र उत्साह आएको छ, लोकतन्त्रवादी जनमत कांग्रेसको पक्षमा आउने अवस्था भयो । यसले गर्दा आउँदो चुनावमा वाम गठवन्धनको सोचाई विपरित कांग्रेसको बहुमत आउने अवस्था सिर्जना भएको छ । चुनाव नजिक आउँदै जाँदा वाम गठवन्धन कमजोर र कांग्रेस बलियो बन्दै गइरहेको छ ।

चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत सिट पाउने भनिएको छ । चुनावमा माओवादीभन्दा एमाले नै ठूलो पार्टी बन्छ भन्ने सुनिश्चित छैन । माओवादी ठूलो पार्टी बन्यो भने पार्टी एकीकरणपछि माओवादीले पार्टी नेतृत्व दावी गर्न सक्छ । उनीहरुले एकीकरण गर्ने भने पनि नेतृत्व विवादका कारण एकीकरण नहुन सक्छ । उनीहरुको एकीकरण गर्ने उद्देश्य नै नहुन पनि सक्छ । एकले अर्कोलाई पछार्न तालमेलसँगै एकीकरणको कुरा ल्याएका हुनसक्छन् । यस्तै सोचेर अहिले सहकार्य गरेका हुन् भने त्यो बेइमानी हो । राजनीतिमा यति खुलेआम बेइमानी घोर अनैतिकता हो । यस्ता अनैतिक शक्तिबाट देशको हित र संविधान कार्यान्वयन हुन सक्दैन ।

एमाले र माओवादी बीच एकीकरण भए पनि नभए पनि उनीहले देशमा फेरि आमूल परिवर्तन र साम्यवादको एजेण्डालाई ल्याएका छन् । यो घातक एजेण्डाले देश जलाउन नपाओस्, यसमा सबै कांग्रेसजन तथा समस्त जनता सचेत हुन जरुरी छ ।