खेलकुद

नेपालका कप्तान विराजले छाने विश्वप्रसिद्ध तीन खेलाडी (नामसहित)

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । उत्कृष्ट खेलाडी बनेका रोनाल्डोले भने उत्कृष्ट खेलाडीमा क्रोयसियाका रियल मड्रिड खेलाडी लुका मोड्रिकलाई भोट दिएका थिए । यस्तै लुका मोड्रिकले उत्कृष्ट खेलाडीको भोट क्रिष्टियानो रोनाल्डोलाई दिएका थिए ।

फिफा आबद्ध देशका खेलाडी, प्रशिक्षक र मिडियाको एकजनाले भोट दिन पाउने अवार्डमा नेपालका कप्तान विराज महर्जनले स्वीडेनका जाल्टन इब्राहिमोविचलाई भोट दिएका छन् । उनले दोस्रोमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र तेस्रोमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई छानेका छन् ।

नेपालका प्रशिक्षक ग्योटोकु कोजीले पहिलोमा क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई भोट दिए । नेपाली मिडियाको तर्फबाट काठमाडौं पोष्टका रितेश रिजालले क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई नै छाने ।

यस्तै लियोनल मेस्सीले उत्कृष्ट खेलाडीमा उरुग्वेका बार्सिलोना स्ट्राइकर लुइस स्वारेजलाई छानेका छन् । उनले दोस्रोमा आन्द्रेइस इनिष्टा र तेस्रोमा नेइमारलाई रोजे ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि प्रदान गर्न लागेको यो अवार्ड पोहोर पनि रोनाल्डोले नै पाएका थिए । ३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फिफाले फ्रेञ्च पत्रिकासँगको सहकार्यमा बालोन डि ओर अवार्ड प्रदान गर्ने गरेकोमा पोहोरदेखि उसले त्यो सहकार्य तोडेर फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिन थालेको हो । फ्रेञ्च पत्रिकाले छुट्टै बालोन डि ओर अवार्ड प्रदान गर्ने गर्दछ ।

यस्तै रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड पाएका छन् । साथै बार्सिलोनाकी लिके मार्टेन्सले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाएकी छिन् ।