राजनीति

तीन नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि एमालेको यस्तो तयारी

काठमाण्डौ । बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेश नम्बर ३ अन्तर्गतका जिल्लामा पर्ने प्रदेशसभा निर्वाचनका लागि आफ्ना प्रभावशाली केन्द्रीय नेताहरुलाई चुनावी मैदानमा पठाएको छ ।

बामगठबन्धनकै अर्को सहयात्री दल माओवादी केन्द्र र लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्ना जिल्ला स्तरका नेताहरुलाई चुनावी मैदानमा पठाइरहेका बेला एमालेले भने धेरै पटक प्रतिनिधिसभा सदस्य भैसकेका र अनुभवी नेताहरुलाई प्रदेशसभा चुनावी मैदानमा पठाएको हो ।

प्रदेश नम्बर ३ मा एमालेका तीन प्रभावशाली केन्द्रीय नेताहरु फरक फरक जिल्लाका प्रदेशसभाबाट चुनावी मैदानमा लड्ने भएका छन्, जसलाई एमालेले मुख्यमन्त्रीको सपना देखाएको छ । चार पटक सांसद भैसकेका एमाले पोलिटब्युरो सदस्य एबम् प्रभावशाली नेता राजेन्द्र पाण्डे धादिङ १(क) बाट प्रदेशसभा निर्वाचनमा भिड्दैछन् भने उनीसँग नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै एमालेकै अर्का प्रभावशाली नेता पोलिटब्यूरो सदस्य पशुपति चौलागाई पनि दोलखाबाट प्रदेशसभा चुनाव लड्दैछन् । उनी दोलखा २ (ख) बाट प्रदेशसभा चुनाव लड्ने भएका हुन् । नेता चौलागाईले नेपाली कांग्रेसका उम्मेद्वार केशव चौलागाईसँग प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै एमालेका अर्का प्रभावशाली नेता एवम् पोलिटब्यूरो सदस्य अरुण नेपाल पनि ३ नम्बर प्रदेश अन्तर्गतकै सिन्धुपाल्चोकबाट प्रदेशसभाका लागि चुनाव लड्दैछन् ।

उनी सिन्धुपाल्चोक १ (क) बाट प्रदेशसभाका लागि चुनाव लड्ने भएका छन् । नेता नेपालले नेपाली कांग्रेसका उम्मेद्वार विष्णुबहादुर खत्रीसँग प्रतिस्पर्धा गर्दैछन् । एमालेले यी तीनजना प्रभावशाली नेताहरुलाई प्रदेश नम्बर ३ बाट मुख्यमन्त्री बनाउने सपना देखाइएको भनिएतापनि केही विषयमा आन्तारिक सहमति भएको भन्ने कुरा समेत बाहिर आएको छ ।

नेतात्रय राजेन्द्र पाण्डे, पशुपति चौंलागाई र अरुण नेपालमध्ये कसलाई भोलिको मुख्यमन्त्री बनाउने ? भन्ने विषयमा समेत गम्भीर छलफल भएको एमाले निकट श्रोतले बताएको छ । एमालेले पाण्डे, चौंलागाई र नेपाल तीन जनालाई नै मुख्यमन्त्री बनाउन सकिने आश्वासन दिएपनि पहिलो प्राथमिकतामा पाण्डे, दोश्रोमा चौलागाई र तेश्रोमा नेपाललाई राखिएको बताइएको छ । यद्यपि, पाण्डे धादिङबाट केन्द्रीय राजनीतिमा निकै ठूलो प्रभाव पारेका नेता हुन् भने चौलागाई अहिलेसम्म कुनै लाभको पदमा नपुगेका एमालेका पुराना र त्यागी नेता हुन् ।

नेता नेपालको पनि नेपाली कम्युनिष्ट आन्दोलनमा निकै ठूलो योगदान रहेको देखिन्छ । एमाले निकट श्रोतका अनुसार यी तीनजना नेताहरुमध्ये पाण्डे र चौलागाईको मुख्यमन्त्रीका लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, चौंलागाईले पाण्डेका लागि स्पेश छाडिदिएका भन्ने खबरहरु समेत बाहिर आइरहेका छन् । प्रभावका हिसावले नेता पाण्डे धादिङ र केन्द्रमा निकै प्रभाव छाड्न सफल नेताका रुपमा स्थापित छन् ।

पार्टीले उनलाई नै मुख्यमन्त्रीका रुपमा अघि सार्न सक्ने सम्भावना रहेको समेत बताइन्छ । यद्यपि, तीनैजना नेताहरुले आफुहरु मुख्यमन्त्री बन्नेगरी मात्र प्रदेशसभाको उम्मेद्वार बनेको प्रतिक्रिया दिँदै आएका छन् । त्यसर्थ, तीन नम्बर प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा एमालेभित्र गम्भीर बहस सुरु भएको समेत श्रोतको दाबी छ ।