खेलकुद

एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि खेलाडी अनुबन्ध गरिँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ट्वेण्टी–ट्वेण्टी क्रिकेटका लागि सोमबार बोलकबोल मार्फत खेलाडीलाई टिममा अनुबन्ध गर्ने काम अर्थात खेलाडीको लिलाम हुँदैछ । काठमाडौंको एउटा होटलमा बिहान ११ बजेपछि हुने बोलकबोलमा ९० जना खेलाडीलाई प्रतियोगिता खेल्ने ६ वटा टिमले अनुबन्ध गर्नेछन् ।

उनीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । हरेक टिमले ए श्रेणीका ३ देखि ५ जना, बी श्रेणीका ४ जना र बाँकी खेलाडी सी श्रेणीबाट राख्नुपर्ने नियम रहेको आयोजक इपिएल प्रालिका प्रमुख आमिर अख्तरले जानकारी दिए ।

क्लबले सवै अर्थात १५ जना खेलाडीका लागि १० लाख रुपैयाँ भन्दा धेरै खर्च गर्न पाउने छैनन् । प्रतियोगितामा सहभागी हुने ६ टिमका लागि कम्तिमा दुई लाख रुपैयाँ पारिश्रमिक पाउने गरी मार्की खेलाडी लिइसकेका छन् ।

प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन, ललितपुर पेट्रिएट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टिम सहभागी हुनेछन् ।

जसमा पारस खड्का विराटनगर, ज्ञानेन्द्र मल्ल ललितपुर, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा, सोमपाल कामी काठमाडौं, र दिपेन्द्रसिंह ऐरी चितवनका लागि मार्की खेलाडी तय भइसकेका छन् ।