खेलकुद

म्यानचेष्टर सिटीले लियो अग्रता

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा पाँच अंकले अगाडि रहँदै शीर्ष स्थानमा रहेको छ । शनिबार राति भएको खेलमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै म्यानचेस्टर सिटीले बर्नलेलाई ३–० को गोल अन्तरले हराएको हो ।

खेलको ३५ औँ मिनेटमा विवादित पेनाल्टीमार्फत सिटीका लागि सर्जियो अगुएरोले गोल गर्दै अग्रता दिलाएका थिए । अगुएरोले यो गोलसँगै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने एरिक ब्रुकको रेकर्डसँग बराबरी बनाएका छन् ।

उनले अहिलेसम्म सिटीका लागि १७७ गोल गरेका छन् । त्यस्तै सिटीका लागि खेलको ७३ औँ मिनेटमा ओटामेन्डी र ७५ औँ मिनेटमा सानेले एक–एक गोल गरेका थिए ।

शनिबार नै भएको खेलमा हडर्सफिल्डले म्यानचेस्टर युनाइटेडको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको मौरिन्होको टिमसँग पाँच अंकको अग्रता बनाएको छ ।