साहित्य

साहित्यकार विकलको ९०औँ जन्मजयन्ती भब्य रुपमा मनाईयो

काठमाडौँ । साहित्यकार रमेश विकलको ९० औँ जन्मजयन्तीका अवसरमा उनको प्रतिमास्थल आरुबारीमा बाल प्रतिभा पुरस्कार वितरण गरिएको छ ।

विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उनको जन्म भएको थियो । भाइटीकामा कार्यक्रम गर्न असहज हुने भएकाले आज अघिल्लो दिन नै तिथिअनुसार उनको सम्झना गरियो ।

साहित्यकार विकलको ९०औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई सम्मानपत्रसहित पुरस्कार वितरण गरियो ।

प्रतियोगितामा इष्टपोल माध्यमिक विद्यालयका छात्र रोहन सिम्खडा प्रथम, टाइमलाइन माध्यमिक विद्यालयका श्लेष्मा आचार्य द्वितीय, एभरग्रिन माविका नवीनसिंह धामी तृतीय, हाइली क्रियटिभ माविकी रुसा गिरी र भेनस पब्लिक स्कुल बेँसीगाउँकी निसा साह सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

पहिलो हुनेलाई नगद रु तीन हजार र रु एक हजार ५०० को पुस्तक, दोस्रो हुनेलाई रु दुई हजार नगद र रु एक हजारको पुस्तक, तेस्रो हुनेलाई रु एक हजार नगद र रु ६०० को पुस्तक, शान्त्वना हुने दुवैलाई रु ५०० नगद र रु ५०० को पुस्तक वितरण गरिएको अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए ।

समाजले स्थापना गरेको विकल बाल प्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको सो अवसरमा जानकारी गराइयो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सम्मान पत्र र पुरस्कार वितरण गरे ।

सो अवसरमा नगर प्रमुख चालिसेले विकलले नेपाली साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदान महत्वपूर्ण रहेको बताए ।

प्रतिष्ठानको उपाध्यक्षसमेत रहेका कलाकार के के कर्माचार्यले विकल साहित्यकार मात्र नभई सिद्धहस्त चित्रकार पनि हुनुहुन्थ्यो उनले भने ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, समाजका अध्यक्ष वेदमणि घिमिरेलगायतले साहित्यकार विकलको व्यक्तित्व एवं कृतित्वका विविध पक्षमाथि चर्चा गरे।

प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ ‘निलगिरि’ लगायत कृति चर्चित छन् ।