राजनीति

एक वर्ष अघिको काम सम्झेर तिहारकै बीचमा जनार्दन शर्मा यसरी एक्कासि भावुक भए !

काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा केही दिनअघि सम्म जनार्दन शर्मा प्रभावशाली मन्त्री थिए । गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका शर्मा प्रधानमन्त्री देउवाले विना विभागीय मन्त्रीको रुपमा थन्क्याइदिएपछि जिम्मेवार बिहिन भएका छन् ।

तर शर्मा अरु सरकारका अधिकांश मन्त्रीहरुभन्दा प्रभावशाली मन्त्री थिए भन्ने कुरा प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री हुँदा समेत पुष्टि भैसकेको छ । यद्यपि, देउवा नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा उनले भनेजस्तो काम भने गर्न सकेका थिएनन् । उर्जामन्त्री हुँदा उनले जसरी उज्यालो अभियानको नेतृत्व गरेर काठमाण्डौ उपत्यका लगायतका अन्य जिल्लाहरुमा समेत लोडसेडिङ मुक्त गर्न सफल भए ।

त्यसले उनको उचाई धेरै माथि पुर्याएको थियो । इतिहासकै सफल उर्जामन्त्रीको रुपमा दर्ज भएका शर्मा गृहमन्त्री हुँदै अहिले सिंहदरबारमा विना विभागीय मन्त्रीको रुपमा कष्टकर हैसियत भोगिरहेका छन् । यो मुलुकको पछिल्लो राजनीतिक लुँछाचुँडीको परिणाम हो । सम्भवत, उर्जामन्त्रालय समालेर निकै प्रतिष्ठित व्यक्तित्वको रुपमा दर्ज भएका शर्माको त्यो उचाई अहिले आएर नष्ट भएको छ ।

बरु शर्माले प्रधानमन्त्री देउवाले विनाविभागीय मन्त्री बनाउनु अघिनै राजीनामा दिएको भए इज्जत रहन्थ्यो भन्नेहरुको पनि कमी छैन । उनको हैसियतलाई जसरी प्रचण्ड नेतृत्वको सरकारले ह्वात्तै उठाइदियो त्यसरी नै देउवा नेतृत्वको सरकारले समाप्त पारिदियो । तर इतिहासमा उनले गरेको एउटा महत्वपूर्ण कामको बारेमा भने नेपाली जनताले स्मरण गर्ने जानकारहरु बताउँछन् ।

त्यसैले मन्त्री शर्माले मध्य तिहारमा अघिल्ला वर्षका तिहार र लोडसेडिङ मुक्त गरेपछि देखिएको तिहारको झिलिमिलाई स्मरण गर्दै एउटा भावुक र अति नै महत्वपूर्ण फेसबुक स्टाटस् लेखेका छन् । उनको यो स्टाटस् आफैमा महत्वपूर्ण देखेर हामीले यहाँ समावेश गरेका छौ ।

झिलीमिली उज्यालो नेपाल र यो वर्षको तिहार । 
तिहार फूलको पर्व, भाई बहिनीको मिलन अनि झिलीमिली बत्तीको पर्व उज्यालो पर्व तर उज्यालो अभावमा न फूल देखिने न भाई बहिनीको मुहारको मुस्कान ।

संयोग भनौ जनताको चाहनाबस म गत तिहारको केहि महिना अगाडि नेपाली क्रान्तीका नायक क.प्रचण्डको नेतृत्वको सरकारमा उर्जा मन्त्री भएं । जलश्रोतको धनी देशको १८ घण्टा लोडसेडिङ्ग गर्ने मन्त्रालयको मन्त्री ?

मन्त्री भएकै दिन लोडसेडिङ्गको पिडा वोध गरीरहेका जनताको छटपटी महसुस गरें । दोश्रो हप्ता प्रतिवद्धता पत्रको १ नम्बर बुँदामा राखेँ म लोडसेडिङ्गको पिडा बोध गरी रहेका जनताको पिडा मुक्त गर्न यो अध्यारो पनलाई हटाई लोडसेडिङ्गबाट मुक्त गर्ने छु । यस्तो भनाई अपत्यारीलो ? कसैले भने सस्तो लोकप्रियता, केहिले लेखे सबैले भन्दै आएको कुरा, कसैले भने दुस्साहस त कसैलाई लाग्यो फेरी नेताले जनतालाई झुक्यायो वा ढाँट्यो । आदि आदि…..

न जनता, न कर्मचारी न व्यापारी कसैलाई विश्वास थिएन । स्वयं खडा गरेको चुनौतीले झन गम्भीर बनायो , तर हर समस्याको समाधान हुन्छ भनेर सम्हालिएं । समस्या कहाँ छ खोज्न थालें । श्रावणमा पनि लोडसेडिङ्ग किन ? प्रश्न गर्न थाले र उत्तर खोज्दै गर्दा वितरणमा हुने अवैध व्यापारको हस्को आयो अनि व्यवस्थापनको कुनियत सच्याउन मेरो प्रतिवद्धता प्रति इमान्दार व्यत्तिको जरुरी देखें अनि अनुप उपाध्यायलाई मन्त्रालय सम्हाल्न अनुरोध गरे संगसंगै काम नै नपाएर पाखा लागेका कुलमान खोजें । उनिहरु सहित अन्य प्राविधीकलाई राखेर भनें मलाई उज्यालो चाहियो , अवैध व्यापार बन्द गर्ने र समान वितरण गर्ने सहि विधी तय गर्ने, थपीन सक्ने पावर थप्ने योजना चाहियो र सारमा जनतालाई उज्यालो चाहियो । 

कुलमानलाई भनें उज्यालो तिहार हुनुपर्छू प्राविधिक कमिटी तयार भयो १५ दिनको मेहनत पछी तिहार उज्यालो पार्ने योजना बन्यो । लक्ष्मी पुजाको अवसरमा लोडसेडिङ्ग हटाउने कामको सुभारम्भ भयो, उज्यालो तिहार र छटसम्म लोड व्यवस्थापनको रुटिन वन्यो । १२ घण्टाको औद्योगिक लोडसेडिङ्ग ४ घण्टामा झर्न सक्यो घर घरमा चौबीसै घण्टा बत्ती बल्यो । 

विविध प्राविधिक चुनौतिका वावजुत प्राविधिक गडबडी हुदाको केहि समय बाहेक यो तिहार सम्म १ वर्ष पुग्यो बत्ति चोर्ने, बत्ति बेच्ने र दुरुपयोग गर्ने हरुको मर्ममा प्रहार गरेर लोड व्यवस्थापनको कुशलता प्रयोग गरेर राजनैतिक र जनताप्रती उत्तरदायी प्रतिवद्धताको यो उपहार हो ।

आर्थिक वृद्धिमा तिव्रता, अँध्याराको त्रासबाट जनताको मुक्ती, युवाहरुमा नयाँ विश्वास र आशा । देश बनाउन इमान्दार प्रयत्न, कुशल व्यवस्थापन, चुनौती खडा गर्दै सामना गर्ने प्रतिवद्धता हाम्रो उज्यालो नेपालूको सफलता । धन्यवाद मेरो टोलीलाई जस्ले दुस्साहसी भनिएको, सस्तो लोकप्रीयता भनिएको, झुट्ठा आस्वासनमा गनिएको सोचलाई जवाफ दियो ।

धन्यवाद मलाई विश्वास गरेर जिम्मेवारी दीने मेरा आदरणीय नेता प्रचण्डलाई, धन्यवाद इमान्दार नेतृत्व गर्ने सचिव अनुपलाई, धन्यवाद कुलमानको नेतृत्वको प्राविधिक टिमलाई । धन्यवाद मलाई हौसला प्रदान गर्ने युवा साथिहरुलाई, सवै आदरणीय जनतालाई । उज्यालो नेपालको १ वर्षको सफलताको अनुभुती सगैं दिपावलीको उपलक्ष्यमा शुभ–कामना । अव समृद्धिका लागि नेपालको पानी जनताको लगानी । अव नयाँ अभियान ।