पर्यटन/संस्कृति

तेह्रथुममा थपिँदै पर्यटक लक्षित होटल

तेह्रथुम । जिल्लामा वर्षेनी ठूला लगानीका होटल खुल्ने क्रम जारी छ । पर्यटकलाई लक्ष्य गर्दै जिल्लाका विभिन्न बजार तथा गाउँका बस्तीमै पनि वर्षेनी सुविधा सम्पन्न होटल, रिसोर्ट र रेष्टुराँ खुलिरहेका छन् ।

यसरी खुलेका होटल तथा रिसोर्ट कुनै न कुनै खास विशेषताले पर्यटकलाई आकर्षित गर्ने ध्येयले सञ्चालित छन् । हालसालै मात्र फेदाप गाउँपालिका–२, ओयाक्जुङस्थित खोरुंगा खोलाको किनारमा अत्याधुनिक सेवा सुविधासहितको सांग्रिला रिसोर्ट सञ्चालनमा आएको छ ।

खोलाको किनारमै खुलेको यो रिसोर्ट अहिले प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाका परिकार, स्थानीय उत्पादन र परम्परागत खाद्य सामग्री, स्विमिङ पुल, आवासीय तालीम हल र सुविधायुक्त लजले चर्चामा छ । करिब रु एक करोड लगानीमा खुलेको यो रिसोर्टमा रमाउन मानिसहरु विभिन्न ठाउँदेखि गाडी लिएरै पुग्ने गरेका छन् । अग्र्यानिक स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा समेत टेवा पु¥याउने उद्देश्यले रिसोर्ट खोलिएको सञ्चालक दुर्गाबहादुर लिम्बूले बताए ।

यहाँ पुग्न सदरमुकाम म्याङ्लुङदेखि करिब ३० मिनेट मात्र लाग्छ । सांग्रिला रिसोर्ट जस्तै चर्चामा छ पिप्लेमा खुलेको ‘डाउनहिल कटेज’ पनि । म्याङ्लुङ नगरपालिका–३ मा रहेको सो कटेजका पस्किइने स्थानीय कुखुरा, माछा, खसी, अग्र्यानिक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनकै लागि आफूले व्यवसाय थालेको सञ्चालक राजु गड्तौला बताउछन् ।

डेढ वर्षदेखि सञ्चालनमा रहेको कटेजले पनि देशीविदेशी सबै ग्राहकलाई खुशी पार्न सकेको सञ्चालक बताउँछन् । गड्तौलाले कटेजमा ५० लाखभन्दा बढी लगानी गरिसकेको बताए ।

पछिल्लो वर्ष आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’ । पहिलेदेखि नै कालापानी नामले परिचित ठाउँमा रेन्बो ट्राउन माछापालनसँगै खुलेको यो रिसोर्ट कृषि पर्यटनका दृष्टिले अहिले निकै चर्चामा छ ।

ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि हजारौँ मानिस आइपुग्ने गरेका सञ्चालक धर्मराज खड्काले बताए । गुराँस हेर्न र रमाउन आउनेहरु यो रिसोर्टसम्म पुगेर मात्र फर्किने गरेका छन् । पछिल्लो समयमा जिल्लाका म्याङ्लुङ, वसन्तपुर, जिरीखिम्ती, शुक्रबारे र संक्रान्तिबजारलगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिने क्रममा छन् ।

लालीगुराँस, ढाका, ह्यात्रुङ झरनालगायत थुप्रै पर्यटकीय क्षेत्रले परिचित जिल्लाका बजारमा पर्यटक लक्ष्यित होटल थपिनेक्रम बढेको होटल व्यवसायी संघका सचिव चेतन सुवेदीले बताए । उनका अनुसार सरकारले नमूना शहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा अझ तीव्र गतिमा होटल व्यवसाय फस्टाउँदै गएको छ ।

पछिल्लो दुई वर्षयतामात्रै वसन्तपुर बजारमा एक दर्जन बढी सुविधायुक्त होटल थपिएका छन् । पहिले अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम पनि बढेको छ । हालसालै मात्र नयाँ भवन निर्माण गरेर पर्यटकका लागि सुविधा र सेवा थप गरी होटल सञ्चालन गरिरहेको याक होटलका सञ्चालक छिरिङ भोटियाले बताए ।

गुराँसको राजधानीका रुपमा चिनिने पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएको उनको बुझाइ छ । अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेको उद्योग वाणिज्य संघको तथ्याँक छ ।

जिल्लाभर गरी कूल ५० लाख हाराहारी लगानीका होटल डेढ दर्जनभन्दा बढी पुगेको होटल व्यवसायी बताउँछन् । व्यवसायीको उत्साह र हौसलाका लागि कतैबाट ध्यान नदिइँदा भनेजति प्रगति भने हुन नसकेको उनीहरुको भनाइ छ । जिल्लाका पर्यटकीय क्षेत्रको विकास र विस्तार साथै प्रचारप्रसारमा उचित ध्यान पु¥याउन सके आर्थिकरुपमा जिल्ला चाँडै समृद्ध बन्न सक्ने व्यवसायी दाबी गर्छन् ।

प्रशस्त पर्यटकीय सम्भावना भए पनि यहाँका पर्यटकीयस्थलको विकास र पर्यटन प्रवद्र्धनमा सरकारले त्यति धेरै चासो दिएको पाइँदैन । जिल्लाको पर्यटन विकासका लागि मध्यपहाडी लोकमार्ग कोसेढुंगा सावित हुने तेह्रथुम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले बताए । उक्त लोकमार्ग बनेपछि यहाँ अझै धेरै होटल व्यवसाय फस्टाउने उनको भनाइ छ । – प्रकाश धौलाकोटी