राजनीति

एमालेले तीन युवालाई यसरी जापानबाट गाउँ फर्कायो

टोकियो । परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा (एमाले) ले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

फिर्ता हुनेमा डा.सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिश भएपछि पाठक नेपाल फर्किसकेका छन् छ भने पण्डित फर्कने तयारीमा रहेका छन् ।

पाठक २००३ र पण्डित २००६ मा अध्ययनका लागि जापान आएर कामदार प्रवेशाज्ञामा परिवर्तन गरी काम गर्दै आएका थिए । गाउँको विकासका लागि विदेशमा रहेका युवालाई फर्काउने उद्देश्यले आफूहरुलाई पार्टीले सिफारिश गरेको उनीहरुको भनाइ छ । पण्डितले गाउँ फर्केपछि राजनीति र सामाजिक काममा होमिने बताएका छन् ।

प्रवासी नेपाली मञ्च जापानका पूर्वअध्यक्ष पाठक जिल्ला कमिटी बाग्लुङको क्षेत्र नम्बर ४ बाट प्रदेशसभामा सिफारिश भएपछि दुई साताअघि कार्यक्षेत्रमा पुगिसकेका छन् । त्यस्तै, मञ्चका पूर्वउपाध्यक्ष पण्डित जिल्ला कमिटी नुवाकोटको क्षेत्र नं १ बाट सिफारिश भएर अर्को साता गाउँ फर्किने तयारीमा रहेका छन् ।

पाठकले फर्कनुअघि विदेशमा बस्दा हासिल गरेको सीप र कलालाई स्वदेशमा सदुपयोग गर्ने बताएका थिए । फर्किनुअघि जापानको बसाइँ अवसर भएको भन्दै अबको बाकी समय पार्टीलाई खर्चिने उनले बताएका थिए ।

त्यस्तै, पण्डितले यहाँको सीप गाउँमा प्रयोगमा ल्याउने प्रयास गर्ने बताए । उनी विसं २०५४ मा शिखरबेँसी गाविस अध्यक्ष भएका थिए ।

गाउँ फर्कनेमा मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ पनि छन् । श्रेष्ठ पनि जापानबाट गाउँ फर्किसकेका छन् । स्थानीय निर्वाचनमा पर्वतबाट विजयी भएपछि श्रेष्ठले उपाध्यक्ष बाबुराम भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।