राजनीति

मंसिर दश गते तोकिएको चुनाव सर्न सक्ने संकेत, सरकारले थाल्यो यस्तो तयारी !

काठमाण्डौ । आगामी मंसिरमा हुने चुनावको घनिभूत तयारी भैरहेको बेला सत्तारुढ दल नेपाली कांग्रेसका एकजना मन्त्रीले मंसिर १० गते तोकिएको चुनाव सर्ने संकेत दिएका छन् ।

बिहीबार बिहान राजधानीबाट प्रसारित एक रेडियो अन्तरवार्ताका क्रममा उनले सो कुराको खुलासा गरेका हुन् । उपप्रधान तथा शिक्षामन्त्री गोपाल श्रेष्ठले आगामी मंसिर १० गतेको चुनाव २१ गते सार्ने प्राविधिक तयारी भैरहेको खुलासा गरे ।

नेपाली रेडियो नेटवर्कसँगको अन्तरवार्ताका क्रममा मन्त्री श्रेष्ठले भने, मंसिर १० गते हुने भनिएको निर्वाचन केही प्राविधिक कारणबस मंसिर २१ गतेलाई सार्ने गृहकार्य भैरहेको छ, मलाई लाग्छ चुनाव सर्छ ।

मन्त्री श्रेष्ठले दुवै निर्वाचन एकै चरणमा गर्न सरकारले तयारी अघि बढाइसकेको समेत स्पष्ट पारे । उनले सर्वोच्च अदालतले समेत मतपत्र बेग्लाबेग्लै हुनुपर्छ भन्ने आशय आफूहरुले पाएको बताउँदै यो विषयमा समेत प्रधनामन्त्रीले कानुनविदहरुसँग छलफल गरिरहनुभएको बताए ।

मन्त्री श्रेष्ठको भनाई अनुसार चुनाव सार्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ता वसन्तराम भण्डारी लगायतका कानुनविदहरुसँगको छलफललाई तिव्रता दिएका छन् ।

कांग्रेसका प्रभावशाली मन्त्रीले नै सरकारले चुनाव सार्ने तयारी गरिरहेको खुलासा गरेपछि मंसिर १० गतेको चुनाव सर्ने सम्भावना देखिएको छ ।

यो सवालमा विपक्षी बामगठबन्धनमा आबद्ध दलहरुले भने चुनाव सार्ने षडयन्त्र भइरहेको र त्यसबारेमा खबरदारी गर्नुपर्ने बताउँदै आइरहेका छन् । प्रधानमन्त्री देउवाले चुनाव सार्ने निर्णय गरेमा बामगठबन्धनसँग सरकारको टक्कर थप बढ्न सक्ने अनुमान गर्न सकन्छ ।