राजनीति

यसरी बढ्दैछ डनहरुको राजनीतिक सक्रियता, कुन डन कहाँबाट उम्मेद्वार सिफारिस भए ?

काठमाण्डौ । मुलुकमा संघीय संसद र प्रदेशसभा निर्वाचनको माहोलले हवात्तै तातेको छ । आइतबार अधिकांश दलहरुले समानूपातिक उम्मेद्वारहरुको बन्दसूची दर्ता गरेपछि मुलुक विधिवत रुपमा निर्वाचनमा होमिएको हो ।

मुलुक चुनावमा हेलिएसँगै ठूला राजनीतिक दलहरुले पेस गरेका उम्मेद्वारहरुको नामतर्फ सर्वसाधारणहरुको दृष्टि केन्द्रीत भइरहेको छ । एउटा अनौठो कुरा त के छ भने दलहरुले उम्मेद्वार दर्ता गरेका नामहरुमा प्रहरीले अपराधीको सूचीमा राखेका व्यक्तिहरु समेत परेका छन् । डनका रुपमा देखिएका उनीहरुको सबै दलमा देखा पर्न थालेका छन् ।

केही दिनअघि मात्र एमालेको तर्फबाट डन दिपक मनाङे उम्मेद्वारको सूचीमा समेटिएका छन् । उनी मनाङबाट उम्मेद्वार सिफारिस भएका हुन् । त्यस्तै, पुराना डनका रुपमा चिनिने राजु गोर्खाली पनि उम्मेद्वारमा सिफारिस भएका छन् ।

गोर्खाली राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेद्वारमा सिफारिस भएका छन् । आइतबार राजपाले बुझाएको समानूपातिकको बन्दसूचीमा पहिलो नम्बर संयोजक महन्थ ठाकुरको नाम देखिन्छ भने दोश्रो नम्बरमा गोर्खालीको नाम रहेको भन्दै हंगामा मच्चिएको छ ।

राजु गोर्खालीको नाम दोश्रो नम्बरमा देखिएपछि तराई–मधेसकै जनतामा हंगामा मच्चिएको छ । गोर्खाली जेठमा पक्राउ समेत परेका थिए । दशकौदेखि गुण्डागर्दी गर्दै जीवन व्यत्तित गरेका गोर्खाली पछिल्लो समयमा राजनीति क्षेत्रमा लागेका हुन् ।

त्यस्तै मनाङे र गोर्खाली जस्तै अन्य डनहरु पनि राजनीतिक पार्टीका नेताहरुको आड र आवरणमा राजनीतिमा सक्रिय देखिन्छन् । पछिल्ला दिन चन्दा संकलन र विभिन्न आपराधिक क्रियाकलापमा सहभागी भएको आरोप खेपिरहेका गणेश लामा पनि फोरम लोकतान्त्रिकको नेताका रुपमा उदाएका छन् ।

उनी केही वर्षअघि काभ्रेबाट चुनावी उम्मेद्वार बनेका थिए । त्यस्तै, एमालेभित्र पर्शुराम बस्नेत लगायतको टिम पनि राजनीतिक आवरणमा सक्रिय रहेका खबरहरु बाहिर आउने गरेका छन् ।

युवासंघको नेतृत्वमा रहेका पूर्वाञ्चल निवासी बस्नेतलाई यो पटकको चुनावमा एमालेले उम्मेद्वारमा सिफारिस गर्यो कि गरेन त्यो भने एकिन भएको छैन ।

प्रहरीले केही डनहरुलाई कार्वाहीको क्रममा सफाया समेत गरिसकेको छ । केही वर्षअघि एमाले निकट मानिने दिनेश अधिकारी चरी र कांग्रेस निकट मानिने कुमार घैंटे प्रहरीको कार्वाहीका क्रममा मारिएका छन् ।

सम्भवतःउनीहरु यसबेला भएका भए उम्मेद्वारको रुपमा सिफारिस हुन सक्ने सम्भावना बलियो थियो ।  यसरी राजनीतिक आवरणमा सक्रिय डनहरुलाई दलहरुले उम्मेद्वारनै सिफारिस गरेपछि समाजमा राजनीतिक विकृत देखिन सुरु गरेको जानकारहरु बताउन थालेका छन् ।