अन्तर्राष्ट्रिय

युनेस्कोको प्रमुखमा फ्रान्सकी पूर्व मन्त्री चयन

एजेन्सी ।  संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले फ्रान्सकी पूर्व संस्कृतिमन्त्री ओड्रे आजुलेलाई नयाँ प्रमुखको रुपमा चयन गरेको छ। इजरेलप्रति ‘पूर्वाग्रही’ भएको भन्दै अमेरिकाले उक्त निकायबाट अलग हुने घोषणा गरेको एक दिनपछि युनेस्कोले नयाँ प्रमुख पाएको हो।

युनेस्को प्रमुख चयन गर्न भएको दोस्रो चरणको मतदानमा मोरक्को मूलकी यहुदी आजुलेले आफ्ना प्रतिद्वन्द्वी कतारका पूर्व संस्कृतिमन्त्री हमाद बिन अब्दुल अजिज अल-कवारीलाई झिनो मत अन्तरले हराएकी हुन्। अमेरिका र इजरेलले युनेस्कोबाट अलग हुने घोषणा गरेपछि उक्त निकायको प्रमुख चयन गर्ने कुरा छायामा परेको थियो।

यसअघि अमेरिकाले युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरेलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको थियो। इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्दै त्यसलाई ‘बहादुरीपूर्ण’ र ‘नैतिकताले भरिएको’ भनेका थिए। युनेस्कोकी पूर्व प्रमुख इरिना बोकोभाले उक्त निकायबाट अमेरिका अलग हुनु ‘अति दुःखको विषय’ भएको बताएकी थिइन्।