राजनीति

यसकारण बाम गठबन्धनबाट बाहिरिए बाबुराम, कांग्रेससँग मिल्ने यस्तो छ भित्री तयारी !

काठमाण्डौ । बामगठबन्धन सुरु भएको दश दिन पनि नवित्दै त्यसमा आबद्ध नयाँ शक्ति पार्टी बाहिरिएको छ । गठबन्धन निर्माण गर्दा भएका सहमतिमा शीर्ष नेतृत्व गम्भीर नभएको भन्दै डा.बाबुराम भट्टराई नेतृत्वको सो पार्टी बाहिरिएको हो ।

शुक्रबार बसेको पार्टी केन्द्रको बैठकको निर्णयले गबठन्धनबाट बाहिरिने र आफुहरु स्वतन्त्र ढंगले चुनाव लड्ने तयारीमा पुगेको नयाँ शक्तिका एक नेताले बताए । बैठकले कुन कुन नेताहरु कहाँबाट लड्ने भन्ने विषयमा समेत निर्णय गरेको जनाइएको छ ।

पार्टी संयोजक बाबुराम भट्टराई गोरखा–२ बाट लड्ने भएका छन् भने अरु नेताहरुका लागि त्यसैगरी उम्मेद्वारी सिफारि गरेको बताइएको छ । नयाँ शक्ति पार्टी बामगठबन्धनबाट बाहिरिनुमा विशेषगरी माओवादीसँग चुनावी तालमेल नमिलेर हो ।

भट्टराईले दाबी गरेको गोरखा–२ मा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाबी नछाडेपछि ती दुई पार्टीबीच मनमुटाव सुरु भएको थियो । बाबुरामले आफ्नै जिल्लाको अर्को १ नम्बर क्षेत्रमा दाबी गर्दा समेत स्थानीय माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेपछि असन्तुष्टि चुलिएको थियो ।

त्यसलगत्तै बाबुरामले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दा समेत माओवादीको पेलाई कम नहुने देखेपछि उनी बाहिरिने निर्णयमा पुगेका थिए । बाहिर कुरा चुनावी सिट संख्यामा कुरा नमिल्दा गठबन्धन टुक्रिएको भन्ने हल्ला आएपनि बाबुराममाथि माओवादी केन्द्रको बढी पेलान भएपछि यो स्थिति आएको श्रोतको दाबी छ ।

कांग्रेससँग चुनावी तालमेलका लागि तयारी
नयाँ शक्ति पार्टीले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेल गर्ने आन्तारिक तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री देउवा र संयोजक भट्टराईले छलफल सुरु गरेको समेत श्रोतको दाबी छ ।

शुक्रबारको पार्टीको बैठकले आफ्नै चुनाव चिन्ह देब्रे आँखा लिएर निर्वाचनमा होमिन थालेको नयाँ शक्तिले कांग्रेससँग चुनावी तालमेल गर्दा कतिसम्म फाइदा हुन्छ भन्ने कुराको आंकलन गरिरहेको श्रोतको दाबी छ ।

गोरखामा नेपाली कांग्रेससँग मिलेर चुनाव लड्दा भट्टराईले माओवादी केन्द्रका उम्मेद्वारलाई समेत सजिलै पराजित गर्ने आंलन गरिरहेका छन् । त्यसैले यी यावत कुराहरुलाई मध्यनजर गर्दै बाबुराम नेतृत्वको नयाँ शक्तिले लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेल गर्ने तयारी गरेको बुझिएको छ ।