पु.समाचार

मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाउँछु : महानिरीक्षक अर्याल

काठमाडौँ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाएर लैजाने बताएका छन् । महानिरीक्षक अर्यालले ६२ औँ प्रहरी दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएको भन्दै शान्ति सुरक्षालाई थप बलियो बनाउने बताएका छन् ।

“नागरिकलाई निश्चिन्ततापूर्वक मताधिकार प्रयोग गर्नसक्ने वातावरण भएमा मात्र उनीहरुले शान्ति सुरक्षाको अनुभूति गर्दछन्,”–शुभकामना सन्देशमा भनिएको छ ।

महानिरीक्षक अर्यालले स्थापनाकालदेखि विभिन्न आरोह, अवरोह पार गर्दै मुलुकमा शान्ति सुरक्षा कायाम गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रहरीको उच्च मूल्यांकन गरेका छन् ।

साथै, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्रदान गर्नुहुने अमर तथा वीर प्रहरीलाई श्रद्धाञ्जलि व्यक्त गर्दे परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

महानिरीक्षक अर्यालले ६२ औँ प्रहरी दिवसले सकल दर्जाका प्रहरी कर्मचारीलाई नवीन ऊर्जा दिनुका साथै आफ्नो कार्य क्षेत्रमा अहोरात्र परिचालित हुन थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

विसं २०१२ असोजमा ऐन जारी भएर आधिकारिक बनेको संंगठनमा हाल ७२ हजारभन्दा बढी प्रहरी कर्मचारी आबद्ध छन् ।