पु.समाचार

अख्तियारद्वारा भूमिसुधार कार्यालयका प्रमुख घुषसहित रंगेहात पक्राउ

राजविराज, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई आज अपराह्न रु एक लाख घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ ।

आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राजविराज–३ स्थित भूमिसुधार कार्यालयमा आई उनलाई पक्राउ गरेको आयोगका पूर्वाञ्चल प्रमुख कालीप्रसाद पराजुलीले बताए ।

मोही मुद्दा लडेकी सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेललाई रु एक लाख लिइरहेको अवस्थामा प्रहरी उपरीक्षक किसनसिंह थापाको नेतृत्वमा आएको टोलीले थलोमा नै पक्राउ गरेको बताइएको छ ।

अभियुक्त पोखरेललाई अनुसन्धानका लागि क्षेत्रीय कार्यालय लगिएको बताइएको छ । सेवाग्राही महिलालाई लामो समयदेखि दुःख दिएको र मुद्दा मिलाउन घुस मागेपछि महिलाले आयोगमा जानकारी दिएपछि पोखरेललाई पक्राउ गरिएको जनाइएको छ । सो कार्यालयमा विगतदेखि नै मोही मुद्दा मिलाउन घुस माग्ने गरेको सेवाग्राहीको आरोप छ ।