पु.समाचार

सुनसरी काँग्रेस : उम्मेदवार सिफारिस

इटहरी । नेपाली काँग्रेस सुनसरीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सुनसरी जिल्लाबाट सङ्घ र प्रदेशका लागि उम्मेदवार बन्न आकाङ्क्षी नेताहरुको सम्भावित नाम सिफारिस गर्ने कार्य पूरा भएको जानकारी दिएको छ ।

राज्यले आगामी मंसिर १० र २१ गते प्रतिनिधि सभा वा सङ्घ र प्रदेशसभाका लागि चुनाव गराउनका लागि मिति तोकिसकेको अवस्थामा निर्वाचन आयोगको निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसार प्रत्यक्ष र समानुपातिकतर्फ १२ पदका लागि उम्मेदवार बन्नेहरुको नाम सिफारिस गरेको नेपाली काँग्रेसले जानकारी दिएको छ ।

पार्टीभित्र उम्मेदवार बन्ने आकाङ्क्षी नेताहरु ज्यादा देखिएपछि नेपाली काँग्रेस सुनसरीले २४१ जनाको नाम केन्द्रमा पठाएको पार्टी सभापति राजीव कोइरालाले जानकारी दिएका छन् ।

उम्मेदवार बन्ने आकाङ्क्षी धेरै जना रहनुभएको तथा अन्य तालमेल गर्न सकिने राजनीतिक दलसँग समेत सहकार्य हुन सक्ने सभ्भावना रहेकाले धेरै जनाको नाम सिफारिश गर्नु परेको हो । काँग्रेस सुनसरीले क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि मन्त्री मीनकुमार विश्वकर्मा, लक्ष्मी खतिवडा र विनोद राईको नाम सिफारिश गरेको छ ।

क्षेत्र नं २ बाट पार्टी सभापति राजीव कोइराला, सांसद सीताराम मेहता, राजीव ढुंगाना, हरि सापकोटा, बद्रीनारायण चौधरी, रामबहादुर बस्नेत र प्रतिनारायण चौधरीको नाम सिफारिस गरिएको बताएको छ ।

यसैगरी क्षेत्र नं ३ बाट पार्टी सभापति राजीव कोइरालासहित हरिप्रसाद सापकोटा, सत्यनारायण गच्छदार, कपिलकुमार भण्डारी सिफारिस सूचीमा परेका छन् ।

त्यस्तै प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नं ४ का लागि सिफारिस भएकामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बस्नेत, जमिल अख्तर, डिल्ली कार्की र कुञ्जिलाल यादवको नाम सिफारिसमा परेको सभापति राजीव कोइरालाले जानकारी दिएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा केन्द्रको निर्णय सबैलाई मान्य हुने गरी सबै आकाङ्क्षीको मनसाय बुझेर नामावली केन्द्रमा पठाइएको पार्टी सभापति राजीव कोइरालाको भनाइ रहेको छ । पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार हुनेदेखि समानुपातिक उम्मेदवार नेताहरुको समेत नाम सिफारिस गरेको बताएको छ ।