राजनीति

प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध बन्छ – नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताएका छन् । गैरआवसीय नेपाली संघ (एनआरएन)को अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

“नेपालको राष्ट्रिय राजनीति चुनावी माहोलमा होमिएको अवस्थामा एनआरएनको सम्मेलन हुन लागेको छ यो सम्मेलनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ राख्छ,”– नेता सिंहले भने । उनले नेपालबाट विभिन्न मुलुकमा गएर बसेका नेपाली दिदीबहिनी तथा दाजुभाइको समस्या समाधानका लागि एनआरएनले गरेको सहयोगको प्रशंसा गरे ।

नेता सिंहले भूकम्पको समय होस् वा बाढीपहिरोको समयमा होस् एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै देश विकासमा पनि योगदान पु¥याएको छ भने । उनले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक प्रक्रियाबाट एनआरएन चलेको छ भन्दै अधिवेशन सफलताको कामना गरे ।

कार्यक्रममा काँग्रेसका जिल्ला सभापति सबुज बानियाँ सोही दलका केन्द्रीय सदस्य, सांसद, भ्रातृ संस्थाका प्रतिनिधिका साथै एनआरएनको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आएका प्रतिनिधिको सहभागिता थियो ।