राजनीति

कांग्रेसका लागि खुसीको खबर, गच्छदार पार्टी प्रवेश गर्दै !

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने कि लोकतान्त्रिक मोर्चामा सहभागी हुने भन्नेबारे व्यापक विवाद भैरहेको बेला अध्यक्ष गच्छदारले भने कांग्रेसमा पार्टीलाई विलय गराउने तयारी गरेको बताइएको छ ।

गच्छदारले स्थानीय तहको निर्वाचन सकिएलगत्तै कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका थिए । तर, पार्टीभित्र नेता जितेन्द्र देवले अर्को समूहको नेतृत्व गरेको र उनले कुनैपनि हालतमा अहिले कांग्रेसमा जानु हुँदैन भन्ने अडान लिएकाले गच्छदारले कांग्रेस प्रवेशमा ढिलाई गरेका थिए ।

अहिले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच चुनावी तालमेल र बृहत्त वाम एकता गर्ने सहमति भएपछि कांग्रेसको नेतृत्वमा बृहत्त लोकतान्त्रिक मोर्चा बनाउनुपर्छ र अघि बढ्नुपर्ने भन्दै यसको लागि दिनरात मेहनतमा नेता गच्छदार समेत लागिपरेका छन् । पार्टी प्रवेश गर्नु अघि उनले पार्टीका पदाधिकारी साथीहरुलाई यसबारेमा जानकारी गराएको समेत बुझिएको छ ।