मनोरञ्जन

मिस पोखराको दोस्रो संस्करणको यस्तो छ घोषणा

पोखरा । ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीको आयोजनामा दोस्रो संस्करणको मिस डिभा पोखरामा हुने भएको छ । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका व्यवस्थापक सागर आचार्यले कात्तिक २५ गते होटल बाराही लेकसाइडमा मिस डिभा पोखरा हुने जानकारी दिए ।

उक्त प्रतियोगितामा कम्तीमा एसइई उत्तीर्ण १८ वर्ष उमेर पुगेका र न्यूनतम पाँच फिट उचाइ भएका युवतीले भाग लिनसक्ने जानकारी दिँदै उनले यस प्रतियोगिताले युवतीको प्रतिभा प्रस्फुटन एवं क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा मिस कास्की निकिता खड्की, युवराज गुरुङ, मिस्टर कास्की मनिष ओस्टा, पूजा श्रेष्ठ, रजनी हमाल, कञ्चन गुरुङ लगायतले युवतीमा निखारता प्रदान गर्ने कार्यक्रम संयोजक स्वस्तीका केसीले बताए।

प्रतियोगिताको उपाधि विजेताले नगद रु ७५ हजारका साथमा म्यागेजिन कभर, मोडलिङ कन्ट्रयाक्ट, ब्राण्ड एम्बेसडर, गिफ्ट भौचरलगायतका पुरस्कार पाउने छ ।