प्रवास

‘एनआरएन’ अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कार्की र पोखरेललाई

काठमाडौँ । यस वर्षको ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई दिइने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ, युके शाखाद्वारा संयुक्तरुपमा स्थापित उक्त पुरस्कार आज यहाँ बसेको पुरस्कार छनोट समितिको बैठकले कार्की र पोखरेललाई दिने निर्णय गरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

रु एकलाख एकहजार राशि भएको पुरस्कार यही असोज २८ र २९ गते काठमाडौँमा हुन गइरहेको एनआरएनको आठौँ विश्व सम्मेलनमा प्रदान गरिने महासचिव विष्टले बताए ।

प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एकजना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

छनोट समितिमा महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेका थिए ।

कान्तिपुर दैनिकमा आबद्ध कार्की लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा रिपोर्टिङ गर्दै आएका छन् भने अर्का पत्रकार पोखरेल भने वी नेपाली डटकमका प्रधानसम्पादक रही एक दशकदेखि बेलायतका नेपालीका बारेमा समाचार संकलन, सम्प्रेषण गर्दै आएका छन् ।