राजनीति

माओवादीसँग भएको ३ बुँदे सहमतिबारे कांग्रेस केन्द्रीय समितिको अन्तिम निश्कर्ष, भयो यस्तो निर्णय

काठमाण्डौ । नेपाली कांग्रेसले केही वर्षअघि सत्ता सहयात्री दलको रुपमा जोडिएको माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति तोडिएको ठहर गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै उक्त निश्कर्ष निकालेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठनको बेला कांग्रेस र माओवादी केन्द्रबीच तीन बुँदे सहमति भएको थियो । पछिल्लो पटक एमाले र माओवादी केन्द्रबीच भएको सहमतिले तीन बुँदे सहमति तोडिएको कांग्रेसको निश्कर्ष हो । केही दिनअघि मात्र एमाले र माओवादीले चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने उद्धेश्यसहित ६ बुँदे सहमति भएको थियो ।

नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रले गरेको उक्त निर्णयलाई गलत र मुलुकको राजनीतिलाई धुर्वीकरणतर्फ लगेको ठहर गरेको छ ।
उसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति समेत तोकी त्यसलाई पर्ने महत्वपूर्ण कानुनी व्यवस्था समेत सुनिश्चित भैसकेको अवस्थामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुनुलाई अस्वभाविक निर्णयको रुपमा लिएको छ ।

विकसित परिस्थितिवाट नेपाली कांग्रेस विचलित नभै राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रकृया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिवद्ध काग्रेसले जनाएको छ । उसले समान सोच राख्ने सवैसँग सहकार्य गर्न तत्पर रहने जनाएको छ ।

नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले ठहर गरेको छ ।

कांग्रेसले वाम तालमेलबाट चुनावमा आफ्नो पार्टीलाई कुनै असर नपर्ने समेत ठहर गरेको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच एक्कासि चुनावी तालमेलदेखि पार्टी एकतासम्मको प्रयास सुरु भएलगत्तै कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने प्रयास सुरु गरेको छ ।