मनोरञ्जन

अब यसरी आउँदैछ चलचित्र ‘अवतार’ जसले विश्वलाई हल्लाउँदैछ !

एजेन्सी । अहिलेसम्म विश्वमै सबैभन्दा बढी कमाउने चलचित्र ‘अवतार’ आउने आठ वर्षमा एक पटक होइन, चार पटक ठूलो पर्दामा हेर्न पाइने भएको छ । सन् २०२५ सम्म अवतारको चार भाग रिलिज गर्ने तयारी गरिएको छ ।

अझ खुशीको कुरा त के छ भने विश्वमै सबैभन्दा बढी कमाउने चलचित्रमा दोस्रो स्थानमा रहेको चलचित्र ‘टाइटानिक’ की अभिनेत्री केट विन्सलेट पनि अवतारका बाँकी भागमा स्टारकास्टका रुपमा देखिने भएकी छन् । जेम्स क्यामरुनद्वारा निर्देशित चलचित्र ‘टाइटानिक’ सन् १९९७ मा रिलिज भएको थियो । उक्त चलचित्रले विश्व भरबाट २.१८ बिलियन डलर कमाएको थियो । सन् २००९ मा रिलिज भएको ‘अवतार’ का निर्देशक पनि उनै जेम्स क्यामरुन थिए ।

केट विन्सलेटले क्यामरुनसँग दुई दशकपछि सँगै काम गर्न थालेकी हुन् । अवतारका चार सिक्वेलको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । ‘अवतार–२’ १८ डिसेम्बर २०२० मा रिलिज हुनेछ । त्यस्तै चलचित्रको तेस्रो भाग १७ डिसेम्बर २०२१, चौथो भाग २० डिसेम्बर २०२४ र पाँचौ भाग १९ डिसेम्बर २०२५ मा रिलिज हुने बताइएको छ ।

जेम्स क्यामरुनले अवतारको दोस्रो भागको शुटिङ सुरु गरिसकेका छन् । विज्ञानको काल्पनिक कथाले दोस्रो भागमा कस्तो रुप लिने हो अहिले नै भन्न नसकिए पनि ‘अवतार’ले प्रस्तुत गरेको दुई ग्रहका जीवको प्रेम कहानीले विश्व चलचित्र बजारमा हलचल नै ल्याएको थियो ।