विचार/ब्लग

एमाले माओबादीमा बिलय भएको भन्दै काँग्रेसकी मनिताको ओलीलाइ खुलापत्र !

‘जबजब कांग्रेस र एमाले प्रतिस्पर्धा छाडेर दुई ध्रुवमा उभिन्छन् तबतब गलत शक्तिले देशमा टाउको उठाउने गरेको छ । अब पनि त्यस्तै हुने खतरा छ । कांग्रेस एमालेको झगडाले गर्दा निरंकुश राजतन्त्रले टाउको उठायो । कांग्रेस एमालेको झगडाबाट माओवादी जनयुद्ध फस्टायो । अहिले एमालेले कांग्रेस विरुद्ध माओवादीलाई टाउकोमै बोकेको छ, पार्टी एकताकै कुरा आएको छ ।’

-मनिता घिमिरे, धरान

प्रिय एमाले
तिम्रो चिन्ताले आज मलाई सताइरहेको छ, तिमी अब बरबाद हुन्छौ भन्ने चिन्ता लागेको छ । किनभने म एमालेलाई माया गर्छु । २०४६ सालको जनआन्दोलनदेखि ०६३ को आन्दोलनसम्म नेपाली कांग्रेसको सहयात्री एमाले नै हो । संविधान निर्माणमा कांग्रेस एमाले एकै ठाउँमा थिए । कांग्रेस एमालेको एकताले नै संविधान बन्यो । यो देशका प्रमुख दुई शक्ति कांग्रेस र एमाले नै हुन् । दुई ध्रुवमा बाँडिएर एकले अर्कोलाई सिध्याउने बाटोमा यी दुई पार्टी लाग्न हुँदैन । बरु असल र मित्रवत प्रतिस्पर्धी बनेर लोकतन्त्रलाई सुदृढ गर्नुपर्छ । अहिले यस विपरित बाटोमा एमाले हिँड्न खोजेको छ ।

माओवादीजस्तो एमाले
जबजब कांग्रेस र एमाले प्रतिस्पर्धा छाडेर दुई ध्रुवमा उभिन्छन् तबतब गलत शक्तिले देशमा टाउको उठाउने गरेको छ । अब पनि त्यस्तै हुने खतरा छ । कांग्रेस एमालेको झगडाले गर्दा निरंकुश राजतन्त्रले टाउको उठायो । कांग्रेस एमालेको झगडाबाट माओवादी जनयुद्ध फस्टायो । अहिले एमालेले कांग्रेस विरुद्ध माओवादीलाई टाउकोमै बोकेको छ, पार्टी एकताकै कुरा आएको छ । यसको परिणाम राम्रो आउँदैन, यो गठवन्धनले देश र प्रदेशहरुमा बहुमत ल्याउने पनि होइन । यो गलत गठवन्धनका कारण एमालेले आफ्नो भएको जनमत समेत गुमाउने देखिन्छ । माओवादी एमालेजस्तो हुने होइन कि एमाले चाहिँ माओवादीजस्तो हुने देखिन्छ । यही कारण एमालेको चिन्ता लागेको हो ।

हाम्रो सत्रु छैन
तीन दशक जनतामाझ परीक्षण भइसकेको एमालेको क्रियाकलाप र भविष्य हरेक नागरिकको चिन्ता र चासोको विषय हो, हामी कांग्रेसजन एमालेको प्रतिस्पर्धी हौं, सत्रु होइनौं । फलानो हाम्रो सत्रु हो भनेर किटान गर्ने स्कूललिङबाट हामी कांग्रेसजन आएका पनि होइनौं, हामी कसैलाई सत्रु देख्दैनौं, त्यसैले प्रतिस्पर्धीको पनि भलो चिताउँछौं । एमालेको भलो चिताएर म भन्छु, कथित वाम एकताको नाममा माओवादीसँग गरिएको गठवन्धनले एमालेले भएको जनमत पनि गुमाउने छ, अबको चुनावमा एमालेको आकार झन खुम्चिन सक्छ । किनभने जनता भनेका कुनै पनि पार्टीका बँधुवा मजदुर होइनन्, कुनै पार्टीले तालमेल गरे भन्दैमा उसैका उम्मेदवारलाई भोट हाल्ने वाध्यता जनतालाई छैन र नेपाली जनताले यस्तो कुरा मन पराउँदैनन् पनि ।
यो गठवन्धनको जवाफमा कांग्रेसले पनि गठवन्धन बनाउन सक्छ । तर म कांग्रेस नेताहरुसँग अपिल गर्छु, अरुलाई हराउन होइन, अरुलाई सिध्याउन होइन, आफू जित्न चाहिँ गठवन्धन बनाउनुहोला, कांग्रेसले कुनै हालतमा सत्रुताको राजनीति गर्न हुँदैन । लोकतन्त्रलाई सुदृढ गर्न होइन लोकतन्त्रलाई बलियो बनाउन गठवन्धन गर्नुहोला ।

मिलापले विकास, विवादले विनास
धेरैवटा कारणले एमालेलाई यो सुझाव दिने नैतिक अधिकार मलाई छ । किनभने म कांग्रेस कार्यकर्ता मात्र होइन, त्योभन्दा धेरै एक नेपाली नागरिक हुँ । यो देशका हरेक राजनीतिक दलको क्रियाकलापमा चासो व्यक्त गर्ने अधिकार मलाई छ । यसबाहेक कांग्रेसभित्र साथीहरुको अनेक आलोचना सहेर पनि मैले सीमित ठाउँमा गरिएको कांग्रेस माओवादी चुनावी तालमेलमा असहमति राखेकी थिएँ । म सधैं कांग्रेस एमाले सहकार्यको वकालत गर्दै आइरहेकी छु । कांग्रेस एमालेको मिलापले विकास हुन्छ, विवादले विनाश हुन्छ भन्दै आइरहेकी छु । एमाले माओवादी एकता हुन लागेको हुनाले मात्र मैले यसो भनेकी होइन, पहिले देखि नै मैले राखेको यस्तो विचार संचार माध्यमहरुमा आइरहेकै छ ।
सबैभन्दा दुखको कुरा, आफू जित्न होइन कांग्रेसलाई हराउनलाई गठवन्धन र एकता भनिएको छ । लोकतन्त्रवादी पार्टी आफू जित्न चुनावमा सहभागी हुन्छन्, कसैलाई हराउनकै लागि गठवन्धन गर्नु दुर्भाग्य हो र यो दुर्भाग्यले आफैलाई सताउने छ । कांग्रेस हराउनका लागि सिर्जना गरिएको गलत गठवन्धनका विरुद्ध जनता उभिन्छन् भने भने कांग्रेस कसरी हार्छ रु अर्को कुरा, कांग्रेसलाई जनताको साथ छ, कांग्रेसलाई हराउन गठवन्धन गरेर हुँदैन, जनताको साथ नै लिनुपर्छ ।
हो, माओवादी र अन्य शक्तिहरुलाई पनि साथ लिनुपर्छ, उनीहरुसँग सहकार्य गर्नुपर्छ । यो जिम्मेवारी एमाले एक्लैको होइन, कांग्रेसको पनि हो । सबैलाई समेट्न सहकार्य गर्नुपर्ने ठाउँमा कांग्रेसलाई सिध्याउन गठवन्धन सिर्जना गर्नु एमालेको हितमा कुनै हालतमा हुन सक्दैन । अरुलाई सिध्याउने खेलमा लाग्दा विगतमा एमाले आफै सकिएको, तेस्रो भएको इतिहास टाढा छैन ।

फरक वामपन्थी
माओवादी पार्टी जनयुद्धबाट आएको हो, यो एक दशक उसले जनयुद्धको धडधडीमा विताएको छ। उसका केही हागाविगा अहिले पनि औपचारिक रुपमै हिँसात्मक विचार बोक्छन्, माओवादीभित्र पनि त्यस्तो विचार राख्ने धेरै देखिँदैछन् । कांग्रेस र एमाले पनि विगतमा हिंसाको बाटोमा थिए तर उनीहरुको रगत र नसाबाट हिँसाको विचार हटिसकेको छ । अब एमालेको रगतमा हिँसावादी विचार पस्ने भयो भन्ने चिन्ता लागेको छ ।
हामीले अहिलेसम्म एमाले र माओवादी दुवै वामपन्थी हुन् तर फरक प्रजातिका भन्ने ठानेका थियौं । माओवादी जस्तो हिंसा र जातिवादी प्रजातिको पार्टी होइन भनेर नै कांग्रेस र एमालेको सहकार्य हुनुपर्छ भनिएको हो । माओवादी र एमाले एकै प्रजातिका होइनन् भन्ने विश्वाशले नै एमालेले राष्टिय अन्तराष्टिय रुपमा राम्रो छवी बनाएको थियो । माओवादीकै प्रजातिको एमाले हो भन्ने देखियो भने त्यसले एमालेको कुनै हालतमा भलो हुने छैन । अब माओवादीसँग एकता एमालेका लागि घातक हुनेछ, यसले मुख्य राजनीतिक शक्तिका रुपमा आफ्नो हैसियत गुमाउने छ । एमालेले तीन दशकमा कमाएको शाख र विश्वशनीयता गुम्नेछ, जनसमर्थन पनि गुमाउने छ । एमालेलाई मित्र र असल प्रतिस्पर्धी ठान्ने म जस्तो कांग्रेसजन धेरै छौं । एमालेले अहिले लिएको बाटोबाट हामी सबै दुखी छौं । एमाले अझ धेरै लोकतान्त्रिक होस् भन्ने हाम्रो चाहना हो तर अझ धेरै वामपन्थी बन्ने बाटोमा जान खोज्यो, यो दुखको कुरा हो ।

समय छ
अझै पनि समय छ, एमाले सहि बाटोमा आउनुपर्छ, गलत उद्देश्यले गठवन्धन र एकता गर्न हुँदैन । कांग्रेसलाई पाखा लगाउने उद्देश्य बोक्न हुँदैन । यसो गर्दा कांग्रेस झन बलियो हुन्छ, कांग्रेसमा झन ठूलो एकता हुन्छ भन्ने एमालेले किन नबुझेको रु आखिर कांग्रेस जस्तै एमाले पनि जाने जनतामै हो, जनताले माओवादीसँग किन एकता भनेर सोधे भने जवाफ के दिनुहुन्छ रु
एक माघले जाडो जाँदैन भनेजस्तै एउटा चुनाव नै सबैथोक होइन भन्ने एमालेले बुझ्नुपर्छ र वामपन्थी बाटोमा जान हुँदैन, लोकतान्त्रिक बाटोमा जानुपर्छ । देशलाई अनावश्यक रुपमा ध्रुवीकरणमा लैजान हुँदैन । चुनावमा रचनात्मक प्रतिस्पर्धा गर्नुपर्छ । माओवादी नेतृत्वले पनि कांग्रेसलाई वर्गसत्रु ठानेर गलत नियत र मनसायले गठवन्धन गर्न हुँदैन । यो एकतामा एमालेले माओवादीलाई सिध्याउने कि माओवादीले एमालेलाई सिध्याउने भन्ने विचार आउन थालेको छ ।
कृपया कसैलाई सिध्याउने र आफू मात्र टिक्ने र बाँच्ने विचार नबोक्नुहोस्, पार्टीभन्दा माथि देश र जनतालाई राखेर सोच्नुहोस् र व्यवहार गर्नुहोस् । यही छ विन्ती ।