पर्यटन/संस्कृति

मंगलबार ढाका टोपी लगाएर पर्यटकको भयो भव्य स्वागत

रत्ननगर (चितवन) । विश्व पर्यटन दिवसका अवसरमा चितवनको सौराहामा आएका पर्यटकलाई सांस्कृतिक झाँकीसहित आज भव्य स्वागत गरिएको छ ।

मंगलबार पहिलोपटक सौराहा आएका पर्यटकलाई नेपाली ढाका टोपी, टीका तथा खादा पहि¥याएर स्वागत गरिएको क्षेत्रीय होटल संघ चितवनका प्रथम उपाध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

उनका अनुसार पर्यटक बसपार्कबाट सौराहाको हात्तीचोकसम्म उनीहरुको स्वागतार्थ सांस्कृतिक झाँकीसहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पर्यटन व्यवसायीले ¥यालीसमेत निकालेको थियो । थारु समुदायका विभिन्न झाँकी तथा नृत्यमा पर्यटक रमाएका थिए ।

नेपालीसँगै भारतीय तथा तेस्रो मुलुकका १५ भन्दा बढी पर्यटकलाई यसरी स्वागत गरिएको हो । स्थानीय बासिन्दाको स्वागतमा पर्यटक खुशी भएका थिए । विश्व पर्यटन दिवसका अवसरमा आज बिहान यहाँको पर्यटक बसपार्कको सरसफाइ गरिएको थियो ।

पर्यटन दिवस मूल समारोह समिति सौराहाको आयोजनामा सरसफाइ गरिएको हो । समितिका सदस्य जीतु तामाङका अनुसार सरसफाइ कार्यक्रमसँगै बसपार्कमा फोहर राख्ने ढ्वाङसमेत राखिएको छ ।

कार्यक्रममा क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान सौराहा, पर्यटन प्रहरी, नेचर गाइड एसोसिएसन, वर्ड एजुकेशन सोसाइटी, बाघ संरक्षण समिति, बाघमारा वन तथा मृगकुञ्ज उपभोक्ता समितिलगायत संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।