आर्थिक

राष्ट्र बैंकमा कर्मचारीको अवधि ५८ वर्ष उमेर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारीको तीसवर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले तीसवर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोक सेवा आयोगलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए । बैंकमा कार्यरत कर्मचारी भने ३० वर्षीय सेवावधि हटाउन नहुने पक्षमा थिए । निजामती सेवामा कर्मचारीको उमेर हद ५८ वर्ष रहेकाले समान बनाउने लक्ष्यका साथ बैंकले उक्त निर्णय गरेको हो ।
कर्मचारीको मागको सुनुवाइ गर्न बैठकले सञ्चालक समिति सदस्य रामजी रेग्मीको संयोजकत्वमा दुई डेपुटी गभर्नर र प्रवक्ता पौडेल सदस्य रहेको समितिसमेत गठन गरेको छ । उमेर हद हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका लागि अध्ययन गर्न गठित समितिले राष्ट्र बैंकको प्रस्तावित संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।