आर्थिक

संविधानको कार्यान्वयनबाट देश समृद्ध हुने : अर्थमन्त्री

इटहरी । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले चाहेको सार्वभौम अधिकार सम्पन्न संविधानको सफल कार्यान्वयनबाट देश समृद्ध हुने बताएका छन् ।

अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा सञ्चारकर्मीसँगको भेटघाटमा अब विकास निर्माण र जनताको भलाइ हुने विषयमा राजनीतिक स्वार्थ भन्दा माथि उठेर सबैले कार्य गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले पूर्वी नेपालका जनताको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाले अझै निर्माणको चरणमा प्रवेश गर्न नसकेको अवस्थामा वर्तमान सरकारले त्यसको पूर्ण कार्यान्वयनको तहमा लैजाने अभियानलाई अघि बढाइसकेको जानकारी दिए ।

अर्थमन्त्री कार्कीले स्थानीय तहको निर्वाचन सम्पन्नसँगै प्रान्त र संघको निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक स्थिरता कायम हुने तथा स्थानीय तहबाट नै विकासको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।