राजनीति

यी हुन् स्थानीय चुनावले अस्तिवनै समाप्त पारिदिएका राजनीतिक दलहरु !

काठमाण्डौ । मुलुकमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नयाँ संविधान कार्यान्यनको पहिलो खुट्किलोको रुपमा रहेको स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा नयाँ राजनीतिक शक्ति समीकरण देखिएको छ ।

मुलुकको समग्र राजनीतिक शक्ति समिकरणमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो देखिएका छन् । यद्यपि, मंसिरमा हुने प्रदेशसभा र संघीय संसदको निर्वाचनले कसलाई कता पुर्याइदिन्छ । त्यो भने अपेक्षाको विषय रहेको छ ।

स्थानीय चुनाव सम्पन्न भएलगत्तै ठूला र प्रभावशाली पार्टीहरुको मात्र बहस चलिरहेको छैन । चुनावमार्फत पराजित भएका र आफ्नो अस्तित्वनै गुमाउन पुगेका पार्टीहरुको समेत यसबेला बहस भैरहेको छ । वास्तवमा स्थानीय चुनावले मुलुकका प्रभावशाली नेताहरुको नेतृत्वमा रहेका पार्टीहरुको भविष्य समेत समाप्त पारिदिएको छ । उनीहरुले कुनै स्थानमा आफ्नो सिट संख्या प्राप्त गर्न सकेका छैनन् । ।

केहीले भने औंलामा गन्न सकिने सिट संख्या प्राप्त गरेका छन्, जसले आगामी दिनमा पार्टी निर्माणका लागि अस्तित्व जोगाइदिएको छ ।केही दलहरु स्थानीय चुनावमा भाग नलिई अस्तित्व लोप हुने अवस्थामा पुगेका छन् भने केहीले चुनावमा भाग नलिई अप्रत्यक्ष रुपमा सघाउन पुगे तर राजनीतिक रंगमञ्चको पर्दा पछाडि परिनै रहे । त्यसर्थ, चुनावमार्फत पराजित भएका पार्टीहरु र आफ्नो नारामार्फत स्थापित भएका पार्टीहरुको आगामी गतिविधि न्युन हुने देखिएपनि उनले गर्ने दुस्साहासी राजनीतिक गतिविधिले भने मुलुकलाई प्रभाव पारिदिनसक्ने जानकारहरु बताउँछन् ।

कुन–कुन पार्टीहरुको अस्तित्व समाप्त भयो ?
स्थानीय निर्वाचनमा भाग लिएर पनि आफ्नो अस्तित्व समाप्त भएका केही पार्टीहरु रहेका छन् । निकै लामो समय नेपालको राजनीतिमा प्रभाव पार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी स्थानीय चुनावमार्फत राष्ट्रिय राजनीतिक मूलधारबाट बाहिरिएको छ । त्यस्तै,माओवादीबाट फुटेर बनेको नयाँ शक्ति पार्टीको पनि अस्तित्व समाप्त भएको छ ।

मुलुककै प्रभावशाली नेताका रुपमा चिनिने डा.बाबुराम भट्टराईले नेतृत्व गरेको सो पार्टीले रसुवाको एउटा गाउँपालिकाभन्दा बाहेक कही पनि जित हासिल गर्न सकेन । त्यस्तै, मुलुककै प्रभावशाली नेता विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकको पनि अस्तित्व समाप्त जस्तै भएको छ ।

अघिल्ला दुई चरणमा भएका निर्वाचनमा शून्यजस्तै भएको उक्त पार्टीले दुई नम्बर प्रदेशको चुनावमा भने ३ देखि ५ सिट ल्याउने सम्भावना देखिदैछ, जबकि उसको हाराहारीमा रहेका राजपा र संघीय समाजवादी फोरमले राम्रो मत परिणाम ल्याएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीको पनि अपेक्षिति परिणाम आएन ।

उता, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी(क्रान्तिकारी)ले चुनावमा भाग नलिए पनि अप्रत्यक्ष सहयोग गरेको थियो । उसको अस्तित्व आफैमा नाजुक देखिन्छ । त्यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले स्थानीय चुनावमा भाग त लिएन तर उसले पनि आफ्नो मागहरुका प्रभावशाली राजनीतिक कार्यक्रमहरु गर्न सकेको छैन । यसरी साना दलहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ ।