समाचार

४० वटा स्थानीय तहसहित ७५८ वडाको मतपरिणाम सार्वजनिक हुंदा कांग्रेसको अग्रस्थान कायम

काठमाडौँ । यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट आज विहान ९ बजे प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार १३ स्थानीय तहमा, नेकपा एमालेका ५ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका ८ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ६ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका ५ स्थानीय तहमा, नेपाल लोकतान्त्रिक फोरमका २ स्थानीय तहमा र नेपाली जनता दलका उम्मेदवार १ स्थानीय तहमा विजयी भएका छन् । यसैगरी, अहिलेसम्म ७५८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना बाँकी रहेका ९६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्बदलीय सहमति गरी मतगणना सुचारू गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको छ ।