राजनीति

गौशाला नपामा माओवादी केन्द्र विजयी

महोत्तरी । जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा माओवादी केन्द्रको भागमा परेका छन् ।

शुक्रबार बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी भएका छन् ।

शिवनाथले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामकुमारीदेवी महतोलाई पराजित गरेका थिए भने आशा लामाले संघीय समाजवादी फोरमका उपप्रमुखका उम्मेदवार डा.रमेश यादवलाई पराजित गरेका हुन् ।

प्रमुख पदमा माओवादी केन्द्रका महतोले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामकुमारीदेवीले पाँच हजार मत प्राप्त गरेकी थिइन् ।

उपप्रमुखमा लामाले पाँच हजार ९७० मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रमेशले चार हजार ६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय, गौशाला महोत्तरीले जनाएको छ ।

त्यस्तै, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवारले चार हजार ३५५, उपप्रमुखले चार हजार ६४२ र राजपा नेपालले प्रमुखमा दुई हजार ७५३ र उपप्रमुखले तीन हजार ३९५ मत प्राप्त गरेका थिए ।

त्यस्तै, गौशाला नगरपालिकाका छ वडामा नेकपा (माओवादी केन्द्र), पाँच वडामा काँग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएका छन् ।

बीस वर्षपछि चुनिएका अधिकांश जनप्रतिनिधि भने युवा नै रहेकाले अब गौशाला नगरपालिकामा विकासको लहर छाउने स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

सोनमामा संघीय समाजवादी विजयी

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार राजकुमार यादवले चार हजार १३२ मत प्राप्त गरी विजयी भएका छन् भने भने उपप्रमुखमा विमादेवी साह तीन हजार ४१९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यस्तै, उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार नवलकिशोर यादवले दुई हजार ४०१ मत प्राप्त गर्नुभएको थियो भने उपप्रमुखमा पुष्पाकुमारी यादवले दुई हजार ८०१ मत प्राप्त गरेका थिए ।

निर्वाचित राजकुमार यादव भने यसअघि पनि गाविस अध्यक्षमा निर्वाचित भई काम गरिसकेका छन् ।