पर्यटन/संस्कृति

पर्यटकीयस्थल सराङकोटमा यसरी गर्यो आमा समूहले गाँजा नष्ट

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटको भकुण्डे क्षेत्रमा आज वृहतरुपमा गाँजा फडानी गरिएको छ । मिलन आमा समूह, भकुण्डे टोल विकास संस्था र प्रहरी चौकी पामेको संयुक्त टोलीले आज बिहानै क्यनचोक र भकुण्डेका घरघरमा पुगेर बारीमा संरक्षण गरेर राखेको गाँजा फडानी गरी नष्ट गरेको हो ।

पोखराको महात्वपूर्ण पर्यटकीय क्षेत्रलाई गाँजा, मादक पदार्थलगायतका विभिन्न कुलतबाट समाजलाई जोगाउन शुरु गरिएको अभियानमा सबै पक्षबाट सहयोग प्राप्त भएको मिलन आमा समूहका अध्यक्ष मीना थापाले जानकारी दिए ।

प्रहरी चौकी पामेका प्रमुख डिलबहादुर भण्डारीका अनुसार संयुक्त टोलीले सो क्षेत्रका पामेगैरी, सेदीवगर, डाँडाखेल, भकुण्डेलगायतका विभिन्न स्थानबाट सयौ क्विन्टल गाँजा फडानी गरिएको जानकारी दिँदै निकट भविष्यमा पोलेनपा २४ को कमवानपुरमा समेत गाँजा फडानी गरिने बताए ।

कास्कीका पाँचवटै स्थानीय निकायमा पछिल्लो समय प्रहरी र स्थानीय बासिन्दाको पहलमा गाँजा फडानी, जुवातास नियन्त्रणमा सामूहिक प्रयास प्रभावकारी बन्दै गएको छ ।