अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि अर्को खतराको संकेत, सतर्क रहन आह्वान

एजेन्सी । अमेरिकी मौसमविद्हरुले समुद्री आँधी मरिया लीवार्ड आइल्याण्ड्समाथि दवाव बढाइरहँदा अति खतरनाक ‘क्याटेगोरी फोर’ अर्थात् चौथो वर्गको भएको बताएका छन्। लीवार्ड आइल्याण्ड्समा अमेरिकी तथा ब्रिटिश भर्जिन आइल्याण्ड्स लगायतका टापुहरु पर्दछन्।

समुद्री आँधीसम्बन्धी अमेरिकी राष्ट्रिय केन्द्र (एनएचसी) ले मरिया अबको केही घण्टाभित्र डोमिनिका टापु नजिकबाट अघि बढ्ने जनाएको छ। आँधीको गति अहिले प्रतिघण्टा २ सय किलोमिटर रहेको छ।

मार्टिनिक टापुले उच्च तहको सतर्कता अपाउन र मानिसहरुलाई घरबाहिर ननिस्किन भनेको छ। फ्रान्सको ग्वाडुलुप टापुले मानिसहरुलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको छ।

यसै महिनाको शुरुतिर विध्वंशकारी एर्मा आँधीको चपेटामा परेकै टापुहरुमा मरिया आँधीले खतरा उत्पन्न गराइरहेको छ। एनएचसीका अनुसार मरिया मंगलवार उत्तर-पूर्वी क्यारिबियन सी तथा बुधवार पुएर्टो रिको र भर्जिन आइल्याण्ड पुग्नेछ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी भर्जिन आइल्याण्ड्समा सोमवार आपतकालीन अवस्था घोषणा गरेका छन्। एनएचसीले मरिया आँधीले विनाशकारी बाढी तथा पहिरो निम्त्याउन सक्ने चेतावनी दिएको छ।