राजनीति

संविधान जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्य छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले हामी सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश दिँदै उनले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गरेका छन्। संघीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अंगीकार गरेको बताएका छन् ।

प्रधानमन्त्रीले सन्देशमा यसको सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरुको सबलीकरण गर्दै अगाडि बढ्नु आवश्यक रहेकामा जोड दिएका छन् । स्थानीय, प्रान्तीय र संघीय तहको निर्वाचनसँगै मुलुक संक्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्रीको भनाइ छ ।

संविधान जीवन्त र गतिशील दस्तावेज भएको बताउँदै सन्देशमा प्रधानमन्त्री देउवाले यसलाई जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्य रहेको उल्लेख गरेका छन् । समाजमा व्याप्त गरिबी, असमानता, भोक, रोग, अशिक्षा र कलहका खाडललाई पुर्दै जाँदा मात्र संविधानले परिलक्षित गरेका महत्वपूर्ण गन्तव्यमा पुग्न सकिने बताउँदै उनले यसका लागि सबै एक जुट र दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरेका छन् ।