प्रवास

प्रवासी झापालीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

दमक । अन्तर्राष्ट्रिय झापाली समाजको यही असोज अन्तिम सातामा जिल्लाको विर्तामोडमा दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । वैदेशिक रोजगारी, अध्ययनका क्रममा विश्वका विभिन्न १८ वटा देशमा पुगेका समाजमा आबद्ध प्रवासीले आफ्नै जिल्लामा विकास निर्माणमा योगदान पुर्यायाउने उद्देश्यले पहिलोपटक झापाको विर्तामोडमा असोज २४ र २५ गते दुई दिवसीय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेका हुन् ।

समाजका प्रवक्ता छत्र सुब्बाका अनुसार सम्मेलनलाई सफल पार्न आवश्यक तयारी तीव्र पारिएको छ । उक्त अन्तर्राष्ट्रिय सम्मेलनले झापाको विकासमा प्रवासी झापालीको योगदान, भावी योजनासहितका विविध विषयमा बृहत् छलफल हुने प्रवक्ता सुब्बाले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकको व्यवस्थापनका लागि समाजको बैठकले पाँच सदस्यीय एक समन्वय उपसमितिसमेत गठन गरिएको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्मेलनमा १८ देशमा क्रियाशील समाजका ५०० बढी प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहने जनाइएको छ । विभिन्न देशमा क्रियाशील झापाली संस्थाको समन्वयमा गत वर्ष मात्र सो अन्तर्राष्ट्रिय झापाली समाज गठन गरिएको थियो ।