शिक्षा

विज्ञान शिक्षाको अध्ययन आवश्यक छ– उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मुलुकमा विज्ञान तथा प्रविधिको क्षेत्रको विकास गरी राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।

विज्ञान तथा प्रविधि मन्त्रालयले ‘पाँचौँ राष्ट्रिय विज्ञान दिवस’ आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले विद्यालयस्तरदेखि नै विज्ञान शिक्षाको अध्ययनलाई महत्व दिइने र व्यावहारिक पाठ्यक्रम बनाई प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताए ।

विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले प्रादेशिक संरचनामा वैज्ञानिक अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यलाई महत्व दिइने प्रष्ट पारे ।

मन्त्रालयका सचिव डा सञ्जय शर्माले यस क्षेत्रमा अहिलेसम्म भएको प्रगतिको समीक्षा गरी आगामी दिनमा लगानी वृद्धि गर्नका लागि नीति बनाउन दिवस उपयोगी भएको विचार व्यक्त गरे।

प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले मुलुकमा आधुनिक अर्थतन्त्रको निर्माणका लागि विज्ञान तथा प्रविधि महत्वपूर्ण भूमिका रहने बताए ।

‘दिगो विकासका आधार ः विज्ञान, प्रविधि र आविष्कार’ भन्ने नाराका साथ मनाइएको उक्त दिवसमा विभिन्न सञ्चारमाध्यमबाट विज्ञानसम्बन्धी प्रचारप्रसार, काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, अन्तरक्रिया, कार्यशालालगायत कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विज्ञान तथा प्रविधिको विकासमा योगदान पु¥याउने स्रष्टालाई सम्मान गरिएको थियो ।

शरदऋतु शुरु हुने आजको दिन हिन्दूले वास्तुशास्त्रका देवता विश्वकर्मा दिवस मनाउने गर्छन् । अमृत साइन्स कलेज(अमृत क्याम्पस)का संस्थापक अमृतप्रसाद प्रधानको जन्मजयन्ती पनि आजकै दिन पर्छ ।