राजनीति

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल जापानमा पक्राउ, यस्तो छ पक्राउ पर्नुको भित्री कारण !

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेललाई जापनी अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । नेता पौडेललाई पार्टीको भातृसंगठनको कार्यक्रममा भाग लिन शनिबार जापान अवतरण गरेलगत्तै टोकियोस्थित नारिता विमानस्थलका अध्यागमनका कर्मचारीहरुले नियन्त्रणमा लिएका हुन् ।

उनीसँगै जापान गएका अर्का कांग्रेस नेता धनराज गुरुङलाई प्रवेश अनुमति दिइएको बताइएको छ । सँगै गएको नेता पौडेललाई भने जापानी अध्यागमनका कर्मचारीहरुले नियन्त्रणमा राखेका छन् र २४ घण्टा वित्दा समेत नियन्त्रण मुक्त गरेका छैनन् ।

पौडेललाई रिहा गर्न नेपालबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले समेत पहल गर्नुभएको बताइएको छ, तर उनको प्रयास पनि खेर गएको बताइएको छ । जापानस्थित नेपाली राजदूतावासको प्रयास समेत असफल भएको श्रोतको दाबी छ ।

नेता पौडेललाई नियन्त्रणमा राख्नुको कारणबारे जापानले अहिलेसम्म केही प्रतिक्रिया दिइको छैन । यद्यपि, श्रोतका अनुसार नेता पौडेलसँग यात्रामा केही पार्टीसँग असम्बन्धित मानिसहरु रहेका कारण उनलाई पक्राउ गरिएको जनाइएको छ ।

नेपाली कांग्रेस निकट नेपाल–जापान जनसम्पर्क समितिले आइतबार अन्तरक्रिया कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा भाग लिन नेता पौडेल त्यसतर्फ गएका थिए । तर आइतबार बिहानसम्म पौडेल नछुटेपछि कार्यक्रमनै अन्योलमा परेको बताइएको छ ।

यस्तो छ भित्री कारण
कांग्रेस नेता गुरुङका अनुसार उनीहरुलाई निम्ता गर्ने रिद्धिन्द्र  गिरीले धोका दिएको हो । जापानको नियमअनुसार स्पोन्सर गर्ने व्यक्ति सँगै हुनुपर्ने तर रिद्धिन्द्र  एक्कासि काठमाण्डौ जानुपर्ने भएकोले प्रदिपलाई नियन्त्रणमा लिएको नेता गुरुङले बताए ।

गुरुङले भने,‘जापानको विमानस्थलमा पुगेपछि अध्यागमनका कर्मचारीले तपाईले आफ्नो स्पोन्सर गर्ने व्यक्ति ल्याउनुस् भन्यो तर प्रौडेलले त्यसको उत्तर दिन सकेनन् अनि फसे ।’ नेता गुरुङले गिरी आफ्नो व्यक्तिगत काम परेकोले काठमाण्डौ पुगेकाले यस्तो भएको बताए ।

यद्यपि, गिरीका अनुसार नेता पौडेललाई जापानी अध्यागमनले छाडिसकेको र उनीहरु नेपाल फर्किने क्रममा हङकङ आइपुगिसकेका छन् । नेता पौडेलसँग स्वास्थ्य खबर पत्रिकाका पत्रकार अनिल न्यौपाने फर्किएका छन् तर नेता गुरुङ र दिलिप थापा भने जापान प्रवेश गरिसकेका छन् । उनीहरु दिउँसोको कार्यक्रममा सहभागी हुने उनले बताए ।