राजनीति

काठमाण्डौ महानगरमा मेयर शाक्य र उपमेयर खड्गीबीचको विवाद, यस्तो छ भित्री कारण !

काठमाण्डौ । मुलुककै प्रभावशाली महानगरको रुपमा रहेको काठमाण्डौ महानगरले नेतृत्व पाएको भर्खर तीन महिनाभन्दा केही बढी समय भएको छ । पहिलो चरणको स्थानीय चुनावमार्फत मेयरमा विद्यासुन्दर शाक्य र उपमेयरमा हरिप्रभा खड्गी चुनिएका थिए । उनीहरु क्रमसः नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

काठमाण्डौ महानगरपालिकाको नेतृत्व सम्हालेको एक सय दिन पुगेको अवसरमा उनीहरुले केही दिनअघि आफुले गरेका प्रगति र आगामी दिनमा गर्न सकिने योजनाहरु समेत सार्वजनिक गरेका छन् । तर यही बीचमा महानगरको नेतृत्वबीचमा बेमेल भैरहेका खबरहरु बाहिर आइरहेका छन् ।

भिन्न राजनीतिक दलबाट मेयर र उपमेयर भएका उनीहरुबीच मतभिन्नता हुनु स्वाभाविक कुरा भएतापनि यसले महानगरको विकास र आगामी भविष्यमाथि कस्तो प्रभाव पार्ला ? यो विषयमा अहिले गम्भीर बहस बाहिर आइरहेको छ ।

महानगरको नेतृत्वमा आएलगत्तै मेयर शाक्य र उपमेयर खड्गीबीच आन्तारिक विवाद देखिएपछि राजधानी समेत रहेको काठमाण्डौ भविष्य के होला ? राजनीतिक र आर्थिक विकासका सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

दुई भिन्न पार्टीको स्कुलिङबाट आएका उनीहरुको विकासका एजेण्डाहरु फरक फरक हुन सक्छन् । तर एउटै नेतृत्वमा आइसकेपछि उनीहरुले समन्वयात्मक ढंगले काम गर्नुपर्ने सरोकारवालाहरुको सुझाव रहेको छ ।

वास्तवमा काठमाण्डौ महानगरपालिका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रकै आँखा पर्ने स्थान भएकोले नेतृत्वबीचको खिचातानीले त्यहाँसम्म प्रभाव पर्न सक्छ ।

काठमाण्डौलाई हराभरा र सुन्दर बनाएमात्र नेतृत्वको इज्जत र प्रतिष्ठा रहने हो, तर नेतृत्व लिएको तीन महिना पनि नबित्दै बाहिरिएको विवादको खबरले राम्रो सन्देश नदिएको सर्वसाधारणहरु बताउन थालेका छन् ।

महानगरको कुर्सीमा बसेको दुई महिना पनि नवित्दै मेयर विद्यासुन्दर शाक्यसँग जोडिएर गाडी र मोबाइल खरिद प्रकरण बाहिर आएको थियो ।

त्यो विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएपछि उनले वाध्य भएर त्यसलाई फिर्ता लिएका थिए । त्यस्तै अहिले नेतृत्वबीचमै विवादका कुरा बाहिर आएको छ, यसले झनै उनीहरुको नेतृत्व क्षमतामाथिनै प्रश्न चिन्ह उठ्ने जानकारहरु बताउँछन् ।

राजनीतिक दलको प्रभाव
वास्तवमा कुनै पनि स्थानीय निकायको प्रतिनिधि भनेको राजनीतिक दलबाट आएको व्यक्ति हुने गर्दछ । राजनीतिक दलका नेता–कार्यकर्ताहरुनै स्थानीय तहको प्रतिनिधि भएपछि त्यहाँ पार्टीगत स्वार्थको प्रतिबिम्ब पर्नु स्वाभाविक पनि हो । काठमाण्डौ महानगरपालिकामा त्यसैको प्रभाव परेको जानकारहरु बताउँछन् ।

नेकपा एमालेको तर्फबाट मेयर बनेका शाक्य र उपमेयर बनेकी खड्गी पार्टीगत रुपमा वैचारिक र विकासका एजेण्डामा लडाई परेको श्रोतको दाबी छ । महानगर विकासमा एमाले र कांग्रेसका आ–आफ्ना एजेण्डाहरु रहेका छन् । उनीहरुले आफ्नै ढंगले त्यसलाई कार्यान्वयन गर्ने सोचा बनाएका हुनसक्छन् । त्यसैको प्रतिबिम्बको रुपमा मेयर र उपमेयरबीच अप्रत्यक्ष रुपमा द्वन्द्व चर्किएको हुनसक्ने बताइएको छ ।

यता, काठमाण्डौमा नेपालीका कांग्रेसको चर्को प्रभाव रहेको ठाउँ हो । उपमेयर खड्गी काठमाण्डौबाट उठेका कांग्रेस नेता प्रकाशमानसिंह निकट नेतृ हुन् । त्यसैले पनि मेयर शाक्यसँग विवाद हुनु स्वाभाविक भएको कांग्रेस नेता–कार्यकर्ताहरु बताउँछन् ।

मेयर शाक्य पनि काठमाण्डौकै स्थानीय नेवार समुदायबाट उठेका नेता भएकोले पनि उनीहरु दुवैले एकले अर्काको कमजोरीलाई नजिकबाट बुझेका छन् । जसका कारण महानगरमा विवाद चर्किएको श्रोतको दाबी छ ।