पु.समाचार

यात्रुको सेवामा छहजार सार्वजनिक सवारीसाधन – सर्वेन्द्र खनाल

काठमाडौँ । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने भएका छन् ।

दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिनुभयो । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसका अलावा दशैँमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन् ।

यो वर्षमात्र २०/२१ लाख मानिस दशैँ मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे १५÷१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा पाँच/छ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउछन् ।

हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन् । दशैँलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दशैँको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दशैँको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताउछन् ।

महाशाखा, विभाग लगायत विभिन्न संघ संस्थाको सहयोगमा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।