काठमाण्डौ । आगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने तेश्रो चरणको निर्वाचनको माहोल थप तात्दै गएको छ । ठुला राजनीतिक दलका शीर्ष नेताहरुदेखि स्थानीय कार्यकर्ताहरु समेत यसबेला चुनावी दौरानमा तीव्र रुपमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार चुनाव क्षेत्रमा पुगिसकेका छन् भने कांग्रेसका विमलेन्द्र निधि लगायतका प्रभावशाली नेताहरु निकै अघिदेखि चुनाव क्षेत्रमा खटिरहेका छन् ।
त्यस्तै एमालेका बरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोख्रेल, सचिव योगेश भट्टराई लगायतका नेताहरु केही सातादेखि दुई नम्बर प्रदेशका विभिन्न चुनावी अभियानहरुमा केन्द्रीत छन् । उता,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु समेत चुनावी दौरानमा देखिएका छन् । तर यही बीचमा एमाले अध्यक्ष केपी ओली दुई नम्बर प्रदेशमा जाने सुरसारमै देखिएका छैनन् ।
वास्तवमा एमाले अध्यक्ष ओली दुई नम्बर प्रदेशका एउटा पनि सभामा सहभागी भएनन्, किन ? अध्यक्ष ओलीसँगै झलनाथ खनाल र वामदेव गौतम पनि चुनावी क्षेत्रमा देखिएका छैनन् ।
ठुला दलका अरु शीर्ष नेताहरु चुनाव क्षेत्रमा खटिरहँदा एमाले अध्यक्ष ओलीलाई किन त्यहाँको राजनीतिक माहोलले तानेन् ? के उनी दुई नम्बर प्रदेशमा जान डराएका हुन् ? यी प्रश्नहरु यसबेला सबैतिर कौतुहलताका विषय बनेका छन् । एमालेले यो सवालमा स्पष्ट जवाफ दिएका छैनन् भने अन्य दल र सर्वसाधारणहरुले भने शंकाको दृष्टिकोणले हेरिरहेका छन् । वास्तवमा एमाले अध्यक्ष ओली दुई नम्बर प्रदेशको चुनावमा किन जान चाहेनन् त ? यो विषयमा हामीले केही तथ्यहरुलाई खोतल्ने प्रयास गरेका छौ ।
यसकारण गएनन् ओली दुई नम्बर प्रदेश !
एमाले अध्यक्ष ओली दुई नम्बर प्रदेशको चुनावमा नजानुको एउटा महत्वपूर्ण कारण हो, सो क्षेत्रमा नेपाली कांग्रेस र मधेसी दलहरुको बढ्दो प्रभाव । यसबेला सो क्षेत्रका प्रत्येक चुनावी सभामा कांग्रेस,मधेसी दलहरु र माओवादीको निशानामा एमाले र त्यसका अध्यक्ष केपी ओली परिरहेका छन् ।
पछिल्ला वर्ष अध्यक्ष ओलीले मधेसी दलहरुले उठाएका मागहरुप्रति लिएको कडा अडान र सत्तारुढ दलहरुसँग देखिएको बेमेलको फाइदा यसबेला कांग्रेस,माओवादी केन्द्र र मधेसवादी दलहरुले उठाइरहेका छन् । त्यसैले पार्टी अध्यक्ष ओलीलाई चुनावी क्षेत्रमा हुने सामान्य कार्यक्रम र सभाहरुमा नडाकिएको एमाले निकट श्रोतको दाबी छ ।
पार्टी अध्यक्षनै चुनावी क्षेत्रमा नगएपछि एमालेप्रति मधेसी जनताको छाप कस्तो पर्ला त ? भन्ने जिज्ञासामा उनीहरुले ओली नभएपनि पार्टीको दोश्रो तहका बरिष्ठ नेताहरुनै चुनावी क्षेत्रमा खटिरहेकोले नकारात्मक प्रभाव नपर्ने दाबी गरिरहेका छन् । सम्भवत, ओली मधेस झरेलगत्तै त्यहाँ ठूलै झडपको सामाना गर्नुपर्ने अवस्था आउनसक्ने एकथरी विश्लेषकहरुको दाबी छ । यद्यपि,बर्दिबास वा जनकपुरमा ठूलै सभाको आयोजना गर्ने तयारीमा एमाले रहेको खबर समेत बाहिर आइरहेका छन् ।
यदि ती शहरमा एमालेले प्रभावाशाली सभाको आयोजना गरे, एमाले अध्यक्ष ओली सम्बोधनका लागि पुग्ने समेत बताइदैछ तर एमालेका स्थानीय नेताहरुले भने सबै कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त भएकोले ठूला खालका सभाको आयोजना गर्न नसकिने बताउँदै आइरहेका छन् ।
पहिलो चरणको स्थानीय तहको पूर्वसन्ध्यामा एमालेले मेची महाकाली अभियान सम्पन्न गरेको थियो । सो क्रममा अभियान सप्तरीको राजविराज आएलगत्तै ठूलो झपडको सामन गरेको थियो ।
जसका कारण राजपाका केही कार्यकर्ताहरुले ज्यान गुमाएका थिए । त्यसपछि एमालेले तत्काल मेची–काली अभियान स्थगित गर्नुपरेको थियो । त्यो घटनालाई एमालेले बिर्सिसकेको छैन । राजपाका कार्यकर्ताहरु यसबेला त्यही निशाना साँध्ने तयारीमा छन् भन्ने कुरा एमालेले गहिरोसँग बुझेको छ । यी थुप्रै घटनाहरुलाई मध्यनजर गर्दै एमाले अध्यक्ष ओली दुई नम्बर प्रदेशको चुनावी अभियान नजाने भएको श्रोतको दाबी छ ।
कांग्रेसका लागि सुःखद संकेत !
तेश्रो चरणमा हुन लागेको स्थानीय निर्वाचनका तीन राजनीतिक प्रतिस्पर्धी मध्ये नेपाली कांग्रेस, एमाले, मधेसी दल–माओवादी केन्द्र हुन् । त्यसमध्ये कांग्रेस र एमालेबीचनै सबैभन्दा बढी प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, मधेसवादी दल र माओवादी केन्द्रले पनि सो क्षेत्रमा निकै ठूलो टक्कर दिन सक्ने वातावरण देखिदैछ । राजपा लगायतका मधेसी दलहरुले कांग्रेस र एमालेको धेरै मत काटिदिन सक्छन् ।
यही बीचमा एमाले अध्यक्ष ओलीनै चुनावी क्षेत्रमा नगएपछि त्यसको नकारात्मक प्रभाव पर्ने निश्चित जस्तै देखिएको छ । ओली चुनावी क्षेत्रमा नजानुको अर्थ उनले मधेसको लागि कमजोरी गरेको ठहर्छ । त्यसकारण पनि एमालेको मत चुनावको अघिल्लो दिन बेलुकासम्म धेरै काटिने आँकलन गरिदैछ ।
यसको जस कांग्रेस र मधेसवादी दलहरुले लिने देखिन्छ । उनीहरुले तत्काल एमाले र केपी ओलीविरुद्ध नयाँ नारा तय गरेर चुनाव जित्ने निश्चित जस्तै देखिदैछ । ओली मधेस नजाने वित्तिक्कै उनी मधेस विरोधी नेता भएको पुष्टि हुने र एमालेको आधाजस्तो मत कांग्रेसको पक्षमा जानसक्ने मधेसलाई नजिकबाट बुझेकाहरुको भनाई छ ।