अन्तर्राष्ट्रिय

म्यानमार संकटबारे राष्ट्रसंघका महासचिवले दिए यस्तो प्रतिक्रिया

एजेन्सी ।  संयुक्त राष्ट्रसंघका महासचिवका अनुसार म्यान्मारको मुसलमान समुदाय अत्यन्त दयनीय मानवीय संकटको अवस्था भोगिरहेका बताएका छन् । एन्टोनियो गुटेरेस्‌को भनाइमा म्यानमारको सुरक्षा फौजले रोहिंज्याका गाउँ वस्तीमा गरेका भनिएका आक्रमणहरु अस्वीकार्य छन्।

म्यान्मारको सेनाले चाहिँ उसले त्यहाँका विद्रोहीहरुविरुद्ध कारबाही गरिरहेको र गैरसैनिकहरुलाई निशाना नबनाइएको बताएको छ। राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यान्मारमा जारी हिंसा रोक्न तत्काल कदमहरु चाल्न आग्रह गरिसकेको छ।

गत महिना हिंसा सुरु भएयता करिब ३ लाख ७९ हजार रोहिंज्या भागेर बाँग्लादेश पुगिसकेका छन्। कैयौं गाउँहरु जलाइएका विवरणहरु सार्वजनिक भएका छन्।

रोहिंज्याहरु बौद्धमार्गीहरुको बाहुल्यता रहेको रखाइन राज्यका बासिन्दा हुन् जसले म्यानमारमा विभेद र ज्यादती भोग्दै आएका छन्। म्यानमारको भनाइमा उनीहरु गैरकानुनी आप्रवासी हुन्।

कैयौं पुस्तादेखि म्यान्मारमा बसोबास गर्दै आएका रोहिंज्याले नागरिकता पाउन सकेका छैनन्। गुटेरेस्‌ले रोहिंज्या शरणार्थीका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।