पु.समाचार

तेस्रो चरणको निर्बाचनका लागी अतिसंबेदलशील मान्दै सप्तरीको सुरक्षा व्यवस्थामा भयो यस्तो कडाइ

राजविराज । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना हुन नदिनको लागि विशेष तालीम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।

त्यस्तै, लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालीम प्राप्त जर्मन शेफर्ड नामक कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सप्तरी जिल्लामा करिब चारहजार नेपाल प्रहरी र दुईहजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन् जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यकासाथ जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सप्तरीमा तीनलाख ३१ हजार ७९ मतदाता रहेकोमा एकलाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी रहेका छन् ।