पु.समाचार

प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गरे । दक्षिण एशिया महिला विकास मञ्चद्वारा आयोजित उक्त सम्मेलनमा सार्क सदस्य राष्ट्रहरुलगायत १८ देशका ८० महिला उद्यमी तथा नीति निर्माताको सहभागिता रहेको छ ।

सार्कअन्तर्गतको सो मञ्च दक्षिण एशियाली महिलामा उद्यमशीलता विकास गर्न क्रियाशील छ । दुई दिने सो सम्मेलनमा पर्यटन, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा संलग्न महिला उद्यमीले हासिल गरेका सफलता, भोग्दैआएका समस्या एवं लगानीका बारेमा छलफल हुनेछ ।

विश्व व्यापार संगठनकाअनुसार यस क्षेत्रको कूल व्यापारको दश प्रतिशत हिस्सा मात्र महिलाको छ । तीमध्ये पनि साना तथा मझौला व्यापार/उद्यममा महिला संलग्न छन् । राष्ट्रिय अर्थतन्त्रमा ८० देखि ८८ प्रतिशत योगदान साना तथा मझौला व्यापारको रहेको छ ।

यस क्षेत्रको आर्थिक–सामाजिक अवस्था, गरिबी, अशिक्षा, पछैटेपनका कारण महिलालाई आत्मविश्वासका साथ उद्योग व्यवसायमा संलग्न रहन कठिन छ । उद्योग व्यवसायमा संलग्न महिलामध्ये अधिकांश आफ्ना पुख्र्यौली पेशाका कारण सहभागी भएको बताइन्छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षण गर्न लगानीमैत्री वातावरण तयार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताए ।

उनले भने – “आर्थिक रुपले एक महिला सक्षम तथा आत्मनिर्भर हुनु भनेको सिङ्गो परिवार नै समृद्ध हुनु हो । परिवार समृद्ध भएपछि समाज र पूरै देशको आर्थिक उन्नयन हुन्छ । त्यसैले यस क्षेत्रमा महिलामा लगानी बढाउन आवश्यक छ । ”
प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा उल्लेख्य रुपमा महिला सहभागितालाई सुनिश्चित गरेको र यसले महिलालाई सशक्त र अधिकार सम्पन्न बनाउन मद्दत पुगेको बताए ।

आयोजक संस्थाका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलालाई उद्योग व्यवसायमा थप आकर्षण गर्न र यस क्षेत्रमा भएका ज्ञान र प्रविधिलाई एक आपसमा बाँड्न सम्मेलन आयोजन गरिएको जानकारी दिईन् । सार्क सचिवालयका महासचिव अमजद हुसेनले महिलाको आर्थिक तथा सामाजिक सुधार ल्याउन महिला उद्यमशीलता विकास गर्न जरुरी भएको बताए ।   उद्योगपति विनोद चौधरीले नेपालका महिला राजनीतिक रुपमा धेरै अगाडि रहेको तर उद्योग व्यवसायमा भने सहभागिता न्यून रहेको उल्लेख गरे ।

श्रीलंकाका प्रा. मैथ्रिविक्रमा सिङ्घेले दक्षिण एशियाका महिला गरिबी, अशिक्षा, पछौटेपनका कारण अझै उद्योग व्यवसायमा पूर्ण रुपले लाग्न नसकेको बताए ।
चीनका महिला उद्यमी चेन यानले महिलालाई ज्ञानमा आधारित सूचना प्रविधिको क्षेत्रमा आउन उत्प्रेरणा जगाउनुपर्ने बताईन् ।