समाचार

कार्यदलको यस्तो वार्ता, एक सातादेखि राजधानीमा थुप्रिएको फोहोर बल्ल उठ्न सुरु !

काठमाडौं । करिब एक सातादेखि राजधानीमा थुप्रिएको फोहोर उठ्न थालेको छ । महानगरपालिकाका उपमेयरको संयोजकत्वमा बनेको काठमाडौं महानगरपालिकाको कार्यदलले वार्ता गरेपछि नुवाकोट ओखरपौवाका बासिन्दाको माग पूरा गर्ने प्रतिबद्धता जनाएर काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा फाल्न थालिएको हो । सोमबारसम्ममा उपत्यकाको सबै फोहोर उठाइसक्ने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले १२ वर्षदेखि नुवाकोटको सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्दै आएकोमा त्यहाँ फालिएको फोहोरले अनेकौं समस्या निम्त्याएको र सरकारले प्रतिबद्धता पूरा नगरेको भन्दै ओखरपौवाका बासिन्दाले बिहीबार फोहोर फाल्न नदिने अनिश्चितकालीन घोषणा गरेका थिए ।

फोहोरमैला व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठ अनुसार, शनिबार नै २८ वटा ट्रिपरले फोहोर सिसडोल पुर्याएको हो ।
उनका अनुसार यसका लागि महानगरको कार्यदलले समन्वय र सहजीकरण गर्ने तथा बासिन्दाको कार्यदलले निर्धारण गरेअनुसार क्षतिपूर्ति दिने निर्णय बैठकले गरेको छ ।

पछिल्लो समयदेखी महानगरले ललितपुर र भक्तपुरबाट पनि संकलन गरी दैनिक ८ सय मेट्रिक टन फोहोर सिसडोल साइटमा व्यवस्थापन गर्दै आएको छ भने सरकारले सिसडोलसँगै दीर्घकालीन ल्यान्डफिल साइटका लागि आसपासकै बञ्चरेडाँडालाई प्रस्ताव गरेर काम अघि बढाए पनि अहिलेसम्म त्यसले गति लिएको छैन ।