कृषि

कार्यालय सहयोगीकै भरमा पशु क्वारेन्टाइन चेकपोस्ट

पथरी । पशु क्वारेन्टाइन विराटनगर चेक पोस्टका कार्यालय सहयोगी पशुपति खतिवडाले पक्षी तथा चौपायाको परीक्षण सुँघेरै गर्ने गरेका छन् । विगत पाँच वर्षयता भारतबाट विराटनगर रानी चेक पोस्ट हुँदै नेपाल भित्रिने गरेका पक्षी तथा चौपायाको स्वास्थ्य परीक्षण सुँघेकै भरमा निरोगिताको प्रमणपत्र दिने गरेको पाइएको हो ।

यदाकदा चेकपोस्टमा बस्दै आएकी पशु प्राविधिक पवित्रा दाहालले निरोगिताको प्रमाणपत्रमा पहिले नै हस्ताक्षर गरेर कार्यालय सहयोगी खतिवडालाई दिने गरेको र उनले खसी बाख्राको स्वास्थ्य स्थिति कस्तो छ भन्ने मतलबै नगरी प्रमाणपत्रको खालीठाउँ भरेर व्यापारीलाई दिने गरेका छन् ।

विराटनगर भन्सार नाका हुँदै प्रतिमहिना तीन हजार चौपाया नेपाल भित्रिने गरेका छन् । ती चौपाया कचेरा आएका, झोक्राएका, छेरुवा चलेका रोगी भए पनि ती कार्यालयले सहयोगीकै भरमा क्वारेन्टाइनले निरोगिताको प्रमाणपत्र दिने गरेको छ ।

रोगी चौपाया भएको शंका लागे पशु प्राविधिकले चेक पोस्टबाटै परीक्षणका लागि १४ दिनसम्म निगरानीमा राख्नुपर्ने प्रावधान छ । तर अहिलेसम्मको रेकर्डमा क्वारेन्टाइन कार्यालयबाट कुनै पनि चौपायाको प्रक्रियाअनुसार स्वास्थ्य परीक्षण नगरेको पाइएको छ ।

चौपाया रोगी भएको शंका लागेमा चेक पोस्टमा नै (पिपिआर) भ्याक्सिन लगाउनु पर्नेमा भ्याक्सिन राख्ने कार्यालयको फ्रिज नौ वर्षदेखि बिग्रिएर ढुसी परेको छ ।

यता मुख्य कार्यालयमा रहेका चार फ्रिजमध्ये तीन फ्रिज बिग्रएका र भएको सद्धे एउटा फ्रिज कार्यालय प्रमुख डा.फेकनलाल साहले निजी आवासमा प्रयोग गरिरहेका छन् । यो कार्यालयले सिरहाको मार्डर, भाण्टाबारी र विराटनगर नाकाबाट आयात हुने पक्षी तथा चौपायाको स्वास्थ्य चेक जाँच गरेर प्रमाणपत्र दिने गर्छ । तर कार्यालय प्रमुख साहले उपकरण अभावले समस्या भएको बताए ।

उपभोक्ता मञ्च मोरङका अध्यक्ष मोहन भट्टराई भने, “पशुको स्वास्थ्य चेक गर्नेहरुले काम गर्दैनन् भने तिनीहरुको औचित्य के ? त्यहाँ चेक पोस्ट रुँघेर सरकारी तलब खानु भनेको राज्यकोषको दुरुपयोग गर्नु हो ।