मनोरञ्जन

फष्टाउँदै छ राजधानीको रात्रिकालीन व्यवसाय !

काठमाडौँ । बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ ।

सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो ।

विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् ।

पुराना डेजाबु, काउजी, सर्कल, ईबिज्जा, फायर क्लब, ओएमजी, पर्पल हेज, कर्मा, शिशा बारलगायतका क्लब तथा लाउन्ज मर्मत र लगानी थपी नयाँ संरचनासहित खुलेका छन् । लाइभ म्युजिकसहितको क्लब तथा लाउन्ज रेष्टुराँमा नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्ने यसतर्फ आकर्षित भएका हुन् ।
ठमेलमा विगत १५ वर्षदेखि रात्रिकालीन व्यवसाय गर्दै आएका आयुष ठकुरी व्यावसायिक सम्भावना देखेर नै यो क्षेत्रमा लगानी बढाउँदै छन् ।

पहिला ब्लू बार नामक रेष्टुराँ सञ्चालन गर्दै आएका ठकुरीले दुई महिना अघिदेखि रु एक करोडभन्दा बढीको लगानीमा सर्कल गजल एण्ड लाउञ्ज बार शुरु गरेका छन् । लेखनाथ मार्ग ठमेलमा रहेको यो बार ठमेलकै पूर्ण पारिवारिक वातावरण र स्वादिष्ट परिकारको सेवाग्राहीले लाभ लिने दाबी गरिएको छ । यहाँ एकसय भन्दा बढीले रोजगारी पाएका छन् ।

डेजाबु क्लब, सर्कल लाउन्ज, कौजी लाउन्ज, शिशा बारले पनि ठूलो लगानी गरेका छन् । क्लब डेजाबु सञ्चालन गर्न दश जना सञ्चालकले करिब रु १० करोड लगानी गरेको बताइन्छ । यसअघि खुलेका भिक्ट्री लाउन्ज, क्लासिक बर्बन र त्रिसरा रेष्टुराँमा समेत भीडभाड बाक्लिएको छ । रातको २÷३ बजेसम्म यस्ता क्लब तथा लाउन्ज रेष्टुराँ सञ्चालन हुने गरेका छन् ।
ठमेलको ओएमजी डिस्को र पर्पल हेज बढी पर्यटक जाने थलो नै बनेको छ । विशेष गरी ओएमजीमा शुक्रबार विदेशी पर्यटकको बढी घुइँचो लाग्ने गरेको क्लब तथा ‘ह्याङ आउट’ रेष्टुराँका व्यवस्थापक सरोज खड्काले बताए ।

आम्दानीसँगै यो व्यवसायमा चुनौती पनि देखिएको छ । व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धा र बेलाबेला प्रहरी प्रशासनको अनावश्यक दबाब झेल्नुपर्छ ।
ठमेलकै क्लासिक बर्न लाउन्जका सञ्चालक अजयमान श्रेष्ठले पनि व्यावसायिक सम्भावना देखेरै लगानी बढाएका छन् । झण्डै १३ वर्षदेखि डान्स बार, आइ क्लबजस्ता व्यवसाय चलाउँदै आएका श्रेष्ठले दरबारमार्गमा करोडभन्दा बढीको लगानीमा क्लब चलाइरहेका छन् ।
श्रेष्ठले रात्रिकालीन व्यवसायलाई सरकारले व्यवस्थित गरी सुविधा र सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए । घरभाडा र कर्मचारीको तलब गरी मासिक रु आठदेखि १० लाख खर्च हुने गरेको उनको भनाइ छ ।

त्यसो त दुई महिनाअघि गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४ सैँ घण्टा खुलाउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै त्यसका लागि तयार हुन व्यवसायीलाई आग्रह गरेका थिए । ती क्षेत्रलाई २४ औं घण्टा सञ्चालनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ ।
पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले बताए । रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण रहेको अध्यक्ष गुरुङले भने ।
एउटा क्लब खोल्न कम्तीमा रु एक करोड लाग्छ । पछिल्लो समय यस्ता क्लब खुल्ने क्रम जारी छ । रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूका अनुसार यो व्यवसायमा अहिले रु दुई अर्बभन्दा बढी लगानी भइसकेको छ । यस्ता व्यवसायको दर्ता गर्ने निकाय एउटै नहुँदा कति संख्यामा खुलेका छन् भन्ने यकिन विवरण नभए पनि करिब ३०० को हाराहारीमा छन् ।

रात्रिकालीन व्यवसायबाट करिब ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगार पाएको व्यवसायी सुब्बाको भनाइ छ । यो व्यवसायमा दैनिक रु १० करोडको कारोबार हुने गरेको बताइएको छ ।