खेलकुद

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने !

पोखरा । पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ ।
पहिलो सिफ्ट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सिफ्ट असोज २ देखि ७ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
पोखराको पर्यटन प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने छ ।