राजनीति

चुनाव जित्न यतिसम्म गर्न सक्दा रहेछन् गृहमन्त्री जनार्दन शर्मा, विवादमा पर्ने निश्चित !

बिजय रिमाल
काठमाण्डौ । अघिल्लो सरकारमा ऊर्जा मन्त्रीको जिम्मेवारीमा रहँदा केही राम्रा काम गरेर हाई–हाई कमाएका वर्तमान गृहमन्त्री जनार्दन शर्मा योपटक भने विवादमा पर्ने देखिएका छन् । गृहमन्त्री शर्माले आफ्नो मन्त्रालय मातहतका उपसचिव र सहसचिव सो सरहका कर्मचारीलाई आफ्नो स्वार्थअनुकूल सरुवा गरेपछि उनी विवादमा तानिने भएका हुन् ।

पछिल्ला दिन गृहमन्त्री शर्माले आगामी मंसिर १० र २१ गते हुने चुनावलाई लक्षित गर्दै व्यापक रुपमा सिडिओहरुको सरुवा गरेका छन् । गृहमन्त्री शर्माको यतिसम्म विवादित कुरा बाहिर आएको छ कि उनले निर्वाचन आचारसंहिता विपरित भदौ १२ गतेको मिति राखेर भर्खरै मात्र थुप्रै सिडिओहरुलाई सरुवा गरेका छन् । उनले एक महिनायता मात्र ६१ जिल्लामा आफु निकटका सिडिओहरुलाई सरुवा गरेर माओवादी केन्द्रको पक्षमा चुनावी माहोल बनाएको गृहमन्त्रालय श्रोतले बताएको छ । उनले भदौ १२ गतेको मिति राखेर केही दिनअघि चार जिल्लाका सिडिओहरुलाई सरुवा गरेका छन् ।

गृहमन्त्रालयले साउन २६ गते १० सहसचिव र २१ उपसचिव गरी ३१ जना, भदौ ८ गते १३ सहसचिव र ३१ उपसचिव गरी ४४ जनाको सरुवा गरेको थियो । त्यस्तै भदौ १९ गते भदौ १२ गतेको पूरानो मिति राखेर चारजना उपसचिवको सरुवा गरिएको जनाइएको छ । गृहमन्त्री शर्माको योजनामा गरिएका यी सरुवामा अधिकांश प्रमुख जिल्ला अधिकारीहरु माओवादी केन्द्र र शर्माका निकटनै रहेका छन् । यसरी छोटो समयअवधिमा यति धेरै सिडिओहरुलाई सरुवा गर्नुको अर्थ गृहमन्त्री शर्मा माओवादी केन्द्रको आन्तारिक स्वार्थअनुसार चलेको पुष्टि भएको गृहमन्त्रालय निकट श्रोतले बताएको छ ।

यस्तो छ गृहमन्त्रीको भित्री योजना
गृहमन्त्री शर्मा अहिले तत्काल सबै जिल्लाहरुमा आफ्नो पक्षका उपसचिव र सहसचिवहरु खोजी खोजी ७५ वटै जिल्लाहरुमा सिडिओ बनाएर पठाउन योजनाबद्ध ढंगले लागेका छन् । अबका केही दिनभित्रै फेरि १० भन्दा बढी जिल्लामा उनले सिडिओहरुको सरुवा गर्दैछन् । त्यसका लागि माओवादी केन्द्र समर्थक वा आफु निकटका उपसचिव र सहसचिवलाई छान्ने काम भैरहेको श्रोतले बताएको छ ।

उनले गृह मन्त्रालयका आफुले भनेका नमान्ने बरिष्ठ उपसचिव र सहसचिवहरुलाई समेत जिम्मेवारबिहिन बनाएको श्रोतको दाबी छ । उदाहरणका लागि गृह मन्त्रालयमा नारायणप्रसाद दवाडी, वीरेन्द्र यादवजस्ता अनुभवी सहसचिवहरुले गृहमन्त्रीले भनेको नटेरेको भन्दै जिम्मेवारबिहीन बनाइएको छ । त्यस्तै बालकृष्ण पन्थी र यादवप्रसाद कोइरालाजस्ता निकै अनुभवी सहसचिवहरुलाई आफ्नो स्वार्थअनुसार गृहमन्त्री शर्मा आएको केही समयभित्रै सरुवा गरिएको थियो । शर्माले आफुले दिएको निर्देशन नमान्ने बरिष्ठ कर्मचारीलाई समेत कि त सरुवा गर्ने कि त जिम्मेवारबिहिन बनाएर राखिदिने गरेको गृहश्रोतको दाबी छ । सोही निशानामा दवाडी, यादव,पन्थी र कोइरालाजस्ता अनुभवी कर्मचारीहरु परेको बताइएको छ ।

निर्वाचन लक्षित योजना
गृहमन्त्री जनार्दन शर्मा माओवादी केन्द्रबाट गृहमन्त्री भएका नेता हुन् । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा सर्वनाक हार बेहोरेपछि आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघीय संसदको चुनावमा भने आन्तारिक ढंगले कर्मचारी संयन्त्रलाई प्रयोग गर्ने तयारीमा सो पार्टी रहेको देखिन्छ ।

त्यसका लागि उसले गृहमन्त्री शर्मालाई निर्देशन दिएको श्रोतको दाबी छ । ७५ वटै जिल्लामा आफ्नो पक्षका सिडिओहरुलाई नियुक्ति गर्ने र त्यहाँको सुरक्षा संयन्त्र आफ्नो हातमा लिएर चुनावलाई प्रभावित पार्ने तयारीमा माओवादी केन्द्र रहेको बताइन्छ । यसअघि भएको चितवनको भरतपुर महानगरपालिको चुनावमा पनि माओवादी केन्द्रले यस्तै भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारीलाई काखी च्यापेको थियो । त्यसेबला चितवनको प्रमुख जिल्ला अधिकारीमा नारायदत्त भट्ट रहेका थिए । उनले भरतपुरको मतपरिणाम माओवादी केन्द्रको पक्षमा पार्न निकै ठूलो भूमिका खेलेका थिए । त्यसैगरी प्रदेशसभा र संसदको चुनावमा पनि सबै जिल्लामा आफ्नो पार्टी निकटका कर्मचारीहरुलाई सिडिओ बनाएर पठाउने अभियानमा गृहमन्त्री शर्मा लागेका छन् । यो कुराको पुष्टि पछिल्लो एकमहिना देखि भएका व्यापक सरुवा र त्यसमा माओवादी निकट उपसचिव र सहसचिव मात्रै परेको कुराले पुष्टि हुन्छ ।