राजनीति

एक्कासि यसरी फेल भयो कांग्रेस र माओवादीबीचको चुनावी तालमेलको कसरत !

काठमाण्डौ । आगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने तेश्रो चरणको निर्वाचनमा नयाँ राजनीतिक समिकरण देखापर्ने संकेत देखिएको छ । अघिल्ला दुई चरणका निर्वाचनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रबीच हुँदै आएको चुनावी तालमेल तेश्रो चरणको निर्वाचनमा नहुने भएपछि नयाँ समिकरणको संकेत देखिएको हो ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रबीच किन एक्कासि चुनावी तालमेलको प्रसंग हराएर गयो ? एमालेलाई दुई नम्बर प्रदेशमा ठेगान लगाउने यी दुई दलको सपना किन एकाएक तुहियो ? यो विषयमा अहिले व्यापक बहस भैरहेको छ । वास्तवमा कांग्रेस र माओवादीबीचको चुनावी तालमेल गर्ने तयारी एक्कासि किन भंग भयो ? र यसका भित्री रहस्यहरु के–के हुन् त ? त्यो विषयमा योपटक हामीले भित्री कारणहरुलाई खोतल्ने प्रयास गरेका छौ ।

वास्तवमा दुई नम्बर प्रदेश अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा एमाले र तराई–मधेसको भित्री क्षेत्रमा नेपाली कांग्रेस र मधेसी दलहरुको प्रभाव रहेको देखिन्छ । महेन्द्र राजमार्ग वरिपरि रहेका स्थानीय तहहरुमा एमालेको प्रभाव भएकोले उसलाई ठेगान लगाउन सत्तारुढ दलहरुबीच तालमेलको तयारी भएको थियो । तर दुई दलबीचको त्यो अभियान नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र नेतृत्वबीच राम्रो समन्वयको अभाव र माओवादी केन्द्रको महत्वाकांक्षी हठका कारण तुहिएको छ ।

वास्तवमा नेपाली कांग्रेसका अधिकांश स्थानीय कार्यकर्ताहरुले यसअघि भएका चुनावमा समेत आफ्नो पार्टी र माओवादीबीच भएको चुनावी तालमेललाई रुचाएका थिएनन् । यो पटकको दुई नम्बर प्रदेशको चुनावमा उनीहरुले माओवादीसँग चुनावी तालमेल गर्ने पार्टीको रणनीतिनै असफल पारिदिएका छन् । यद्यपि, कांग्रेस कार्यकर्ताका कारण मात्रै दुई दलबीचको चुनावी तालमेलको रणनीति फेल भएको होइन,माओवादीले अनावश्यक ढंगले आफ्नो जनमत नभएको ठाउँमा पनि आफ्नो हैसियत खोज्नाले चुनावी तालमेल भंग भएको हो ।

यसरी फेल भयो चुनावी तालमेलको कसरत !
वास्तवमा अहिले दुई नम्बर प्रदेशमा सत्तारुढ दलबीच दुईवटा नगरपालिकामा मात्र तालमेल भएको छ । धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्र दुई दलबीच तालेमल भएको छ ।

दुई नम्बर प्रदेशका अरु स्थानीय तहमा चुनावी तालमेल हुन सकेन । वास्तवमा पूर्व–पश्चिम राजमार्ग वरिपरिका क्षेत्रमा एमालेको प्रभावलाई न्यूनिकरण गर्न बन्ने सम्भावना देखिएको सत्तारुढ दलबीचको चुनावी तालमेल किन असफल भयो त ? यसबारेमा नेपाली कांग्रेस र माओवादी नेताहरुका आ–आफ्नै तर्क रहेका छन् ।

माओवादीले आफुले रोजेका स्थानीय तहहरुमा नेतृत्व नपाएको जनाइरहेको छ भने कांग्रेसले माओवादीले आफ्नो हैसियतभन्दा माथि पदीय दायित्व खोजेर बिगारेको आरोप लगाइरहेको छ । कांग्रेसको आरोप माओवादीले जनमत नभएका ठाउँहरुमा समेत मेयर र गाउँपालिका प्रमुखका पदहरु मागेको बताएको छ । जस्तै बाराको सिमरा गाउँपालिकामा माओवादीले मेयरको दाबी गरेको थियो, त्यहाँ नेपाली कांग्रेसले अडान लियो ।

सर्लाही र महोत्तरीका केही नगरपालिका र गाउँपालिकामा पनि माओवादीले अनावश्यक ढंगले पदको दाबी गर्न थालेपछि विस्तारै त्यहाँका कांग्रेस कार्यकर्ताहरुले तालमेलविरुद्ध आवाज उठाउन थाले ।

सिमरामा माओवादीको प्रभाव करिब–करिब सून्यजस्तै रहेको छ । त्यसैले यस्ता ठाउँमा समेत माओवादीले आफ्नो दाबी गर्न थालेपछि तालमेलको प्रसंग हराउँदै गयो । अन्ततः सिंगो दुई नम्बर प्रदेशमा माओवादी केन्द्र र उसको नेतृत्वले अनावश्यक हस्तक्षेप गर्न थालेको संकेत थाहा पाएपछि कांग्रेसले तालमेलको प्रसंगनै झिक्न छाड्यो ।

उम्मेद्वार मनोनयन गर्ने दिनसम्म धनुषाको मिथिला र बाराको निजगढमा दुई दलबीच तालमेल भैसकेको थियो । ती दुई नगरपालिकामा पनि कांग्रेसले नै मेयरको उम्मेद्वार फुत्काएको छ भने माओवादीले उपमेयर पाएको छ ।

एमालेलाई राहत

अब अन्य स्थानीय तहमा तालमेल गरेर जाने सम्भावना टरेको छ । यसले एमालेलाई समेत केही राहत महसुस भएको देखिन्छ, किनभने राजमार्ग वरिपरिका क्षेत्रमा एमालेको प्रभावलाई ध्वस्त बनाउने उद्धेश्यसहित सुरु भएको तालमेल अभियान बीचमै टुटेकाले एमालेलाई थप राहत महसुस भएको हो ।

दुई नम्बर प्रदेशको चुनावमा अब सबै पार्टी एक्लाएक्लै चुनाव लड्ने निश्चित भएको छ । यसले अबको मतपरिणाम कसको पोल्टामा जान्छ भन्ने कुराको यकिन अहिलेनै गर्न सकिने सम्भावना छैन । सम्भवत, नेपाली कांग्रेस, एमाले र मधेसवादी दलहरुबीच कडा प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिएको छ ।

माओवादी केन्द्र पनि प्रचण्डकै नेतृत्वमा सो क्षेत्रमा खटिरहेको देखिएकोले उसको पनि प्रभाव बढिरहेको संकेत देख्न सकिन्छ तर भित्री मधेसमा सो पार्टीको त्ति धेरै प्रभाव देखिदैन । त्यसैले अबको टक्कर भनेको नेपाली कांग्रेस र एमालेबीचकै भएको जानकारहरु बताउँछन् ।