शिक्षा

नेपाल संस्कृत विश्वविद्यालयले गर्यो यस्तो तयारी

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको ७०औँ सभाले सोमबार आव २०७४/०७५ लागि रु ९० करोड ८९ लाख ९१ हजार ५०० बजेट पारित गरेको छ ।

विश्वविद्यालयको चालु आवको नीति, कार्यक्रम तथा आयव्यय बजेटको प्रस्तुतिका लागि यहाँ आयोजित सभाले सरकारी अनुदान र आन्तरिक स्रोतका आधारमा रु ८७ करोड ६४ लाख ९९ हजार ५०० सरकारी अनुदान र रु तीन करोड १४ लाख २० हजार विश्वविद्यालयको आन्तरिक स्रोतबाट व्यहोरिने गरी बजेट पारित गरेको उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले जानकारी दिए ।

सभाले यौगिक विज्ञान तथा प्राकृतिक चिकित्सा विषयमा स्नातक अध्ययनलाई स्वीकृति दिनाका साथै विश्वविद्यालयका आवश्यक नीति बनाउनका लागि सुझाव संकलन तथा गृहकार्य गर्न कुलपति प्रा डा कोइरालाको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरेको छ ।

सभामा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृत वाङ्मयको विकासका लागि राष्ट्रिय संस्कृत शिक्षा नीति तर्जुमा आयोग गठन गर्ने तयारीमा सरकार रहेको संस्कृतको विकास र संवद्र्धनमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

सभामा विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले संस्कृत वाङ्मयका विभिन्न विधालाई वर्तमानमा विकसित भएका नवीनतम प्रविधिसँग समायोजन गर्दै लैजानुपर्नेमा जोड दिए ।

विसं २०४३ मा दाङमा स्थापित विश्वविद्यालयमा हाल तीन हजार ७२१ विद्यार्थी अध्ययनरत तथा ७४५ शिक्षक र ४४६ कर्मचारी कार्यरत छन् ।