पु.समाचार

आफन्त र छिमेकीको रु ४० करोड ठगेर महिला बेपत्ता !

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।

डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाट भुजेलले आफ्नो रु दुई करोड ठगिएको बताईन् । पन्ध्र वर्षसम्म उनीहरुसँग आफूले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आफू विश्वासमा परेको उनले बताईन् ।

स्यांजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आफू रु ९० लाख ठगिएको बताईन् । अनेक बहाना गरेपछि आफूसँग भएको रु ८२ लाख र भाइसित मागेर रु आठ लाख निजलाई दिएको जिकिर गरिन् ।

यस्तै बिरौटा बस्ने गायत्री अर्यालको रु ३५ लाख र मासवारकी सुशीला सिग्देलको रु १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताए । भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।