मनोरञ्जन

चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब

चितवन । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।

देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब करिब भरिएका छन् । आइतबार पनि दर्शकको राम्रो साथ पाएको चितवनको इन्द्रदेव चलचित्र हल नारायणगढका सञ्चालक मुक्ति पियाले बताए ।

‘म यस्तो गीत गाउँछु,’, ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने जगत्मा भित्रिएको ‘ए मेरो हजुर २’ ले शुरुवाती प्रदर्शन राम्रै वाहवाह पाएको छ । “आक्रामक व्यापार भइरहेको छ, राजधानी काठमाडौँ बाहिरको वितरणको जिम्मा लिएका केदार पराजुलीले भने, दुई दिनमा करिब करिब रु दुई करोड व्यापार भयो ।”

युवा रोमान्सलाई कथामा उनेर १० वर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की तत्कालीन नायिका झरना थापाको डेब्यू निर्देशन रहेको उक्त चलचित्रले सार्थक बालप्रेमलाई मुख्य विषय बनाएको छ ।

सच्चा प्रेम जुनसुकै अवरोधले पनि रोक्न सक्दैन भन्ने कुरा गौरवसँगै बिहे हुनै लाग्दा पनि मायाँ र प्रेमको मिलनले उजिल्याएको छ । विभिन्न सामाजिक विसंगतिलाई समेत नंग्याउने प्रयासले चलचित्र जीवन्त बन्न पुगेको छ ।

कथाले समलिङ्गीप्रतिको सामाजिक नकारात्मक दृष्टिकोणलाई तिखो प्रहार गरिएको छ । देशको वेशभूषा र संस्कृतिको संवद्रधनमा एक कदम अगाडि छ । चलचित्रमा आएका सबै गीत उत्कृष्ट बनेका चलचित्र पत्रकार रवि अधिकारी बताउँछन् ।

यसमा मुख्य भूमिका प्रेम र मायाको छ । फिल्मलाई कमेडी बनाउन ‘जे’ले साथ दिएका छन् । प्रेम र माया सहपाठी हुन् । एक अर्कालाई असाध्यै माया गर्छन् । स्कुल बसमा आउँदा जाँदा उनीहरुको लुकामारी नै हुन्छ ।

पोखरामा ५ कक्ष पढ्दा गितार लिएर प्रेमले चलचित्र ‘ए मेरो हजुर’को चर्चित गीत फूलको थुंगा हौ कि, बगेको गंगा हौ गाउँछ । माया प्रभावित हुन्छे । प्रेमका बुबाको काठमाडौँ सरुवासँगै फक्रन लागेको प्रेमको कोपिलामा तुसारो पर्छ । प्रेमले भेट्न आउने कसम खाँदा माया मायाको बालप्रेम झल्कन्छ ।

‘मलाई चिनेनौँं भने नि ।’ कतिपय कुराहरु मनैले थाहा पाउँछ चिनिराख्नै पर्दैन, प्रेम भन्छ । प्रमिस १ प्रेमले उत्तर दिन्छ, “आफू त सानो मान्छे ठूलो स्वर प्रमिस कुरा गरिन्छ फुल डोज ।”

प्रेमले आफ्नो बालापनका साथीहरुसँग बेलिविस्तार गर्छ । ‘जे’को योजनामा स्केच बोकेर माया खोज्न उनीहरु पोखरा पुग्छन् । बाटोमा लिफ्ट पाएका गौरवका कारण मायासँग सहज भेट हुन्छ । उनीहरु बालापन सम्झाउने कोशिस गर्छन् । ग्यारेजमा थन्किसकेको त्यो स्कुल बस ल्याएर स्मरण गराउने प्रयास हुन्छ । यस्तै यस्तैमा मध्यान्तर बित्छ ।

०००

उनीहरुले बाटोमा लिफ्ट दिने व्यक्ति गौवरसँगै आर्य बनेकी मायाको बिहे हुने पक्का भएको कुरा पोखरा पुगेपछि मात्रै थाहा पाउँछ प्रेमले । तैपनि हरेस खाँदैन । मर्निङ वाकको समयको सदुपयोग निरर्थक हुन्छ ।

आर यु फलोइङ मी ? नो । धेरैदिनदेखि वाच गरिरहेकी छु, मलाई कसैले फलो गरेको मन पर्दैन । प्रेम जवाफ दिन्छन्, “तर मलाई मन पर्छ, अझै तिमी जस्तो गर्जियस लेडिज अगाडि आउँछ्यौ । आफू त सानो मान्छे ठूलो सोच लभ गरिन्छ फुल डोज ।”

अझै मायालाई याद दिलाउने प्रयास हुन्छ । म प्रेम । तिम्रो चाइल्डहुड फ्रेण्ड, ह्वाट ? तिमीजस्तो कति प्रेमसँग भेट भयो । माया, नाम पनि याद छैन तिमीलाई ? याद आएर नि के फरक पर्छ । मैले कति स्कुल चेन्ज गरेँ र स्कुलसँगसँगै ब्वाइफ्रेड पनि । सिक्समा एउटा, यटमा एउटा, टेनमा एउटा । तिमी जस्तो प्रेम त कति भेट भयो भयो । इट्स् द लभ स्टोरी ।

मायालाई फकाउन टे«किङको बहानामा मनाङ जान्छन् । तिलिचो ताल घुम्छन् । प्रेमले मायालाई थुप्रै प्रयास गरेर फकाउँछ । त्यहाँबाट फर्किदा उल्टै उनीहरुबीच नै झगडा हुन्छ ।

यता घरमा गौरवसँगको बिहेको चाँचोपाँजो गरिएको हुन्छ । प्रेम बिहेको अघिल्लो राति नै काठमाडौँ फर्किन्छ । ‘जे’ले प्रेमको असली प्रेम मायालाई बताउँछ । उनी भावुक हुन्छिन् ।

साहित्यकार झमक घिमिरेको चर्चित पुस्तक ‘जीवन काँडाकी फूल’ लिएर बुबाले भनेको कुरा सम्झन्छे, “काँडामा पनि हिँड्न सक्नुपर्छ, मनले जे बोल्छ त्यो सही हुन्छ ।”

अनि निर्णय बदलेर मायाले दादासँगै आफूले गौरवसँग बिहे नगर्ने निर्णय सुनाउँछे । बिहेघरमा सन्नाटा छाउँछ । “धनसम्पत्ति मानप्रतिष्ठा सब कमाउन सक्छु म पनि । सम्पत्ति र हाई क्लासको लोग्ने बिहे गराइदिएर आफ्नो बहिनीलाई किन कमजोर देखाउन खोज्नुहुन्छ ? हजुरको बहिनी संसार जित्न सक्छे दा ।”

सब कुरा सुनिरहेको हुनेवाला श्रीमान् गौरवले सहज लिँदै भन्छन्, “हरेक मान्छेको एउटा कथा हुन्छ र त्यसमा एउटा हिरो । यो कथा तिम्रो थियो । जसमा म जबरजस्ती हिरो हुन पुगेछु । सायद मलाई अरु कुनै कथा होला, जसले मलाई वेट गरिरहेको छ ।”

पुरानो स्कुलको थोत्रो बसमा प्रेमलाई खोज्दै काठमाडौँ पुग्छन् । बालापन झैँ बसमा बसेर मायाले आफ्नो माया माइकबाट पोख्छिन् । त्यो सुनेर प्रेम फर्किन्छ ।

अनि उनीहरुको डाइलग उल्टिन्छ । प्रेम, “मलाई कसैले फलो गरेको मन पर्दैन”, मायाको प्रतिउत्तर आउँछ, “तर मलाई मन पर्छ, आफू त सानो मान्छे ठूलो सोच लभ गरिन्छ फुल डोज ।”

०००

बेलाबेलामा ‘ए मेरो हजुर’को टाइटल गीतले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झाइरहन्छ । श्रीधर्मेन्द्र उनको फ्यान भएकाले स्कुल बसभरि पोस्टर टाँसेर १० वर्षअघिको फिल्मलाई जीवन्त बनाउन खोजिएको छ ।

तर माया र प्रेमको परिवारका बारेमा चलचित्र मौन छ । नायकमाथि हाबी बनेका ‘जे’ अर्थात् सलोन बस्नेत कमेडी कलाकारमा देखिएका छन् । डेब्यू गरेका नायक सलिनमान बानिया (प्रेम)को अभिनयमा अझै उत्कृष्ट हुने ठाउँ छाडेका छन् । तर साम्राज्ञी राज्यलक्ष्मी शाहको यो दोस्रो फिल्म भए पनि उनको अभिनय दर्शकले मन पराएका छन् ।

चलचित्रमा दर्शकले सोचेजस्तो प्रेममा उतारचढाव छैन । सानो द्वन्द्वको दृश्य छ । मोड बिनाको प्रेम सच्चा छ । दर्शकमा कौतुहलता ल्याउने कथा छैन । शुक्रबारको पहिलो सो हेरेकी समीक्षा आलेले फिल्म राम्रो बनेको बताईन् ।

सच्चा प्रेमको प्रतीकका रुपमा ‘ए मेरो हजुर २’लाई लिन सकिन्छ । बालापनको प्रेम बीचमा हराए पनि अन्ततः मिलन हुनपुग्छ ।

चलचित्र पोखराको फेवातालमा घुमेको छ । मनाङका दृश्यले दर्शकलाई मोहित पार्छ भने अग्लो स्थानमा रहेको तिलिचो ताल र हिमशृङ्खलाले ल्योभ्याउँछ । हरेक गीतले मन छुन्छ । ‘उकालीमा जाँदा जाँदै दाहिने पर्यो बर।।। माया कता पर्यो घर।।।’ ‘मायाँ दिन्छु मुटु दिन्छु।।।’ ।

लोक भाकामा गाएको ‘मलाई दुई चुल्ठी बाटेर फूल लाउन मन पर्छ टिपिदेउन साहिला दाइ।।।’ गीत मर्मस्पर्शी छन् । सुहाना इन्टरटेनमेन्टले तयार पारेको चलचित्र सुनिल थापाले बनाएका हुन् । हरिहर अधिकारीको कथामा अन्य कलाकार अम्बर सुवेदी, अनुराग कुँवर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राईको अभिनय छ । सामिप्यराज तिमिल्सिनाको पटकथा छ । प्रेम र मायाँको भूमिकामा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । जे को भूमिकामा नायक सलोन बस्नेत छन् ।

चलचित्र पत्रकार रवि अधिकारी फिल्म गीत–संगीतको लोकेसनसँगै बालप्रेम भुल्न नसक्ने देखाएको बताउँछन् ।

यस्तो थियो पहिलेको ‘ए मेरो हजुर’

आखिर दुवै चलचित्र प्रेम कथामै आधारित छ । तर पहिलेको तुलनामा २ को कथावस्तु फितलो छ । पहिलेको चलचित्रमा माया पाउन विभिन्न ठक्कर आएका छन् । शिव रेग्मीको निर्देशक सशक्त छ । सच्चा प्रेम पाएरै छाड्छ भन्ने उदाहरण दुइटैमा छ ।

सम्भ्रान्त परिवारभन्दा मध्यम परिवारको फरक देखाइएको छ । सम्पत्तिका लागि आफ्नै नातेदारले जे पनि गर्न सक्छन् भन्ने पाठ यसमा छ । अनेक मोड र घुम्तीले प्रेममा दर्शकलाई कौतुहलता जगाइरहन्छ । हरेक कलाकारको अभिनयमा खोट छैन । ‘ए मेरो हजुर’मा ईश्वर बनेका दिवंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्रद्धा बनेको नायिका झरना थापाको मुख्य अभिनय छ ।

पहिले ईश्वरले मन पराउँदा श्रद्धाले विपिनलाई मन पराएकी हुन्छिन् । तर विपिनको माया फोस्रो धन सम्पत्ति हत्याउनका लागि हुन्छ । उनका आफन्तहरुले सम्पत्ति हत्याउनका लागि श्रद्धालाई मार्न लखेट्दा गाडीमा ठोक्किएर श्रद्धाको दृष्टि गुम्छ ।

पहिले गाउँबाट निकालिएका ईश्वरले उनलाई बचाएर लान्छ । पालन पोषण गर्छ । चोरेको पैसाले उनको आँखाको शल्यक्रिया गरेर जब दृष्टि फर्काउँछ । अनि श्रद्धाले फेरि पुरानो ईश्वरलाई देखेर घृणा गर्छिन् । विदेश गएका विपिन फर्केर श्रद्धा भेट्छ । मायाको जालमा फसाएर विपिनले श्रद्धालाई मार्न षड्यन्त्र बुन्छ ।

ईश्वरले बचाउने क्रममा फाइट हुन्छ । त्यही बेला ईश्वरको पर्स खस्छ र श्रद्धाले पहिले दृष्टि गुम्दा खिचेको संयुक्त फोटोबाट माया फर्किन्छ । अनि उनीहरुको पुनः मेल हुन्छ र चलचित्र समाप्त हुन्छ ।